काठमाडौं।देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा दसैँ र तिहारजस्ता पर्वमा विशेषगरी आन्तरिक पर्यटनको चहलपहल बढी हुन्छ ।
पर्यटक आगमनका दृष्टिले यो मुख्य याम पनि हो , तर पर्यटनको ‘सिजन’ सुरु हुने समयमा भएको जेन(जी आन्दोलनका कारणपर्यटक स्वात्तै घट्दा यस क्षेत्रले अपूरणीय क्षति बेहोर्नु परेको छ । कैयौँ पर्यटकीय संरचनामा अकल्पनीय हानिनोक्सानी भएको छ । परिणामतः पर्यटकीय गन्तव्यमा पर्यटकको आगमन निराशाजनक छ ।
विगतका दसैँमा भरिभराउ हुने बन्दीपुरका होटल तथा ‘होमस्टे’हरुले पर्यटक पर्खिरहेका छन् । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाका अनुसार विगतका दसैँ तथा तिहारजस्ता पर्वमा शतप्रतिशत ‘अकुपेन्सी’ हुने बन्दीपुरका होटल तथा होमस्टेमा अहिले मुस्किलले एक सय पर्यटक छन् ।
‘गत भदौमा आन्दोलन दैनिक एक हजारभन्दा बढी पर्यटक बन्दीपुर आइरहेका थिए, तर आन्दोलनपछि पर्यटकको सङ्ख्या उल्लेख्य रुपमा घटेको छ, यसले बन्दीपुर भ्रमण वर्ष २०२५ प्रभावित हुन्छ कि भन्ने संशय पैदा भएको छ ।’
आन्दोलनको असर बागलुङ कालिका मन्दिरमा पनि परेको छ । विशेष गरी बडादसैँ र चैते दसैँमा मन्दिरमा ठूलो मेला लाग्छ । तर यसपटक भने मन्दिरमा आउने दर्शनार्थीको सङ्ख्या करिब ५० प्रतिशतले घटेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको भनाइ छ ।
पर्यटकीय गन्तव्य चितवनको सौराहमा पनि यसपटक उल्लासमय वातावरण नभएको क्षेत्रीय होटल सङ्घ सौराहका पूर्वअध्यक्ष दीपक भट्टराईले बताए।









