काठमाडौँ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्बोच्च अदालतको सेवा अव शीघ्र सञ्चालनमा आउने बताएका छन् ।भाद्र २४ गतेको जेनजीहरुको आन्दोलनमा घुसपैठ भई सर्वोच्च अदालतमा आगलागि भए पछि काम ठप्प जस्तै भईरहेको छ ।
सर्वोच्च अदालतमा आज नेपाल बार एशोसिएसन, सर्वोच्च बार एशोसिएसन, महान्यायाधिवक्ता सविता भण्डारी बराल, नायब महान्यायाधिवक्ता, उपत्यका बार एशोसिएसनका पदाधिकारीहरूबीचको छलफलमा उनले सर्वोच्च अदालतको सेवा शीघ्र सञ्चालन हुने जानकारी दिए ।
प्रधानन्यायाधीश राउतले भने, “न्याय प्राप्त गर्ने नागरिकको अक्षुण हक मर्न दिदैनौँ । सर्वोच्च अदालतको सूचना प्रविधि ‘रिकभर’ हुनेबित्तिकै अदालत पूर्ण रूपमा सञ्चालन हुनेछ ।”
नेपाल बार एशोसिएसनका अध्यक्ष प्रा. डा.विजय मिश्रले अदालतहरूलाई शीघ्र सञ्चालन गर्नुपर्नेमा जोड दिँदै कानुनी मिसिल झिक्ने प्रक्रियामा बारले सहजीकरण गर्ने बताएका छन् ।
उनले भने, “अदालतहरू नियमित रूपमा सञ्चालन गर्नुपर्छ । नेपाल बार र कानुन व्यवसायीसँग रहेका मिसिल ल्याउन बारले सहजीकरण गर्नेछ । कतिपय पुराना मिसिल नचाहिने काम तत्काल सञ्चालन गर्न जरुरी छ ।”
यसअघि पनि नेपाल बारले अदालतहरू यथाशीघ्र सञ्चालन गर्न प्रेस विज्ञप्ति जारी गरेको थियो । सर्वोच्च अदालतको भवन पूर्ण रूपमा जलेको र धेरै मुद्दाका मिसिल नष्ट भएकाले हाल पालमुनिबाट बन्दी प्रत्यक्षीकरणका मुद्दाको सुनुवाइ भइरहेको छ ।









