काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको भन्दै फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन उनले दलहरूलाई आग्रह गरेका छन् ।राष्ट्रपति पौडेलको आह्वानमा शितल निवासमा बसेको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा उनले उक्त आग्रह गरेका हुन् ।
उनले शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास आमनागरिकलाई दिलाउन सरकारलाई सुझाव दिएको प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।राष्ट्रपति पौडेलले लोकतन्त्रको रक्षाका लागि सबै मिलेर निर्वाचन सम्पन्न गराउनुपर्ने बताए ।पौडेलले राजनीतिक दलहरूमा कुनै द्विविधा र अस्पष्टता भए बैठकमा राख्न आग्रह गर्दै निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालिए देशलाई कहाँ पुर्याउँछ भन्ने पनि सोच्न आग्रह गरे ।
राष्ट्रपतिले पार्टीहरूलाई अलमल सिर्जना नगरी जेनजीको माग पूरा गर्ने बाचासहित जनतामा जान आग्रह गरे । उनले दलहरूको सुरक्षाको चिन्तालाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताए ।बैठकमा सहभागी राजनीतिक दलका नेताहरूले लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दलहरू निर्वाचनमा जान सधैँ तयार रहेको बताउँदै अहिलेको सुरक्षा व्यवस्थाले निष्पक्ष र स्वतन्त्र वातावरणमा निर्वाचन हुने विषयमा संशय पैदा भएको बताए ।
उनीहरूले यो शंका र संशय हटाएर सरकारले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास दिलाउन सक्नुपर्ने बताए ।
बैठकमा सहभागी राजनीतिक दलका नेताहरूले पनि लोकतन्त्रमा विश्वास गर्ने दलहरू निर्वाचनमा जान सधैँ तयार रहेको र शान्ति सुरक्षा व्यवस्था, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन हुनुपर्नेमा जोड दिनुभएको थियो । उहाँहरूले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास दिलाउन सरकारसमक्ष आग्रह गनुभएको थियो ।
त्यसै गरी बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभागिताबिना निर्वाचन सम्भव नहुने विषयमा सरकार जानकार रहेको बताउँदै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध छ भन्नुभयो । उहाँले निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षाको प्रबन्ध सरकारले गर्ने विश्वास दिलाउनुभयो । प्रधानमन्त्री कार्कीले भन्नुभयो, “जेनजी समूह हाम्रा छोरा, नाति भएकाले उनीहरूले किन आज यस्तो असन्तुष्टि व्यक्त गरे भन्ने बुझेर परिवर्तनलाई आत्मसात गर्नुपर्छ, यहीअनुसार दलहरू अगाडि बढ्दा देश र जनताको हित हुन्छ ।”
बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव वर्षमान पुन सहभागी थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डीपी अर्याल र सहमहामन्त्री वीपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल सहभागी थिए ।
त्यस्तै, जनता समाजवादी पार्टीबाट रेनु यादव, जसपा नेपालबाट विद्युत बज्रचार्य र प्रकाश अधिकारी, जनमत पार्टीबाट डा. चन्द्रकान्त राउत र डा.जयकुमार राउत लगायतको सहभागीता थियो ।








