गृह मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै भन्योः निर्वाचनको वातावरण बनाउन सबैले सहयोगी भूमिका खेल्नु पर्छ
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन नजिकिँदै जाँदा गृह मन्त्रालयले सबै पक्षलाई संयमित रहँदै शान्त वातावरण कायम गर्न आह्वान गरेको छ। मन्त्रालयले हालै जारी गरेको विज्ञप्तिमा देशमा स्थायित्व र निर्वाचनमैत्री वातावरण बनाउन सरकार क्रियाशील रहेको उल्लेख गर्दै आन्दोलन वा अराजक गतिविधिबाट टाढा रहन सबै राजनीतिक शक्ति र नागरिकसमूहलाई अनुरोध गरेको हो।
भदौ २३ र २४ गतेका प्रदर्शनपछि क्षतिग्रस्त संरचना पुनर्निर्माण र सेवा सञ्चालन क्रमशः सामान्य बन्दै गएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सरकारले निर्वाचनसम्बन्धी कानुनी सुधार, स्रोत–साधनको व्यवस्थापन र राजनीतिक दलहरूसँग संवादका माध्यमबाट सहकार्यको वातावरण तयार गरिरहेको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “आफ्ना जायज माग र सरोकारहरू उठाउने हक सबैलाई छ, तर जनताको शान्तिपूर्वक बाँच्न पाउने अधिकार र सार्वजनिक सुरक्षामा खलल नपुग्ने गरी कार्य गर्नुपर्छ। सार्वजनिक सम्पत्ति, राष्ट्रिय सुरक्षा र साम्प्रदायिक सद्भावलाई क्षति पुर्‍याउने कुनै कार्य स्वीकार्य हुने छैन।”
मन्त्रालयले पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत् धर्ना, प्रदर्शन र विरोधका कार्यक्रम घोषणा भइरहेका घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। यस्ता कार्यक्रममा अस्थिरता फैलाउन खोज्ने स्वार्थी समूहले घुसपैठ गर्न सक्ने भन्दै आयोजकहरूलाई सचेत रहन आग्रह गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “देशमा अस्थिरता निम्त्याउने प्रयासहरूलाई नकार्दै शान्ति, सद्भाव र राष्ट्रिय हितको संरक्षणका लागि सबैले जिम्मेवारीपूर्वक भूमिका खेल्न जरुरी छ। सरकार संवादका माध्यमबाट सबै पक्षका माग र चासो सम्बोधन गर्न तत्पर छ।”
गृह मन्त्रालयले देशमा सामान्य स्थिति फर्किएर निर्वाचनमुखी माहोल बनिसकेको दाबी गर्दै राजनीतिक शक्ति, सामाजिक संस्था र नागरिकहरूलाई लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन सहयोग गर्न आग्रह गरेको छ।

 

LEAVE A REPLY