आनीवक्ष “पियूषी” दिङ्ला
देश धर्तिको एकाइ हो । मानिस धर्तिका खेताला हो । खेताला लगाउने राजनीतिज्ञहरु हुनुहुन्छ । राजनैतिक व्यक्तित्वहरुले युक्ति मिलाएर काम लगाउनुभयो भने देशलाई चाहिने चिजबिचहरु उत्पादन हुन्छन् । नागरिकहरुको खाँचो टर्दै जान्छ । हामीले यसरी विचार गरौं कि हाम्रै देशको चलन अनुसार गाउँ ठाउँमा कुनै घर परिवारले आफ्नो घर सपार्नु छ भने सौहार्द वातावरणमा सबै मिलिजुलि काम गर्दा खेतीपाती सप्रिएको हुन्छ । बरबगैंचा मौलाएका हुन्छ । वस्तुभाउहरु हरेक प्रकारका हुन्छन् । फूलबारीमा ढकमक्क फूल फुलेका हुन्छन् । सब्जीहरुको कुनै खाँचो हुँदैन । बजार कमै मात्र जानु पर्ला । यसरी नै देशलाई पनि एकाघर परिवार सम्झिएर स्वदेशी बन्धु नागरिकहरुलाई घरका परिवार सदस्यको रुपमा घर सप्रिए जस्तै देशलाई पनि समृद्धशाली बनाउन देशमा के के काम गर्नु पर्दछ, किन गर्नुपर्दछ, कसरी गर्नु पर्दछ ? कुन कुन काममा ककस्लाई जिम्मा दिने भन्ने कार्ययोजना तयार पारेर नागरिकहरु सक्रिय बनाउन सके काम नबन्ने देखिदैन । देश बनाउने जिम्मा लिएर अग्रसर हुनु भएका महानुभावहरुले के के गर्दा ? कसरी गर्दा जनता जनाद्र्धन खुशी भएर काम गर्न तयार हुन्छन् त्यसरी नै गरेर यो देशका हामी जनतानै मालिक हों, हामीलाई फाइदा हुन्छ, दुःख पाउनु पर्दैन भनेर प्रेरित गर्न सक्नु पर्दछ । यसरी जनतालाई श्रम गर्न हौसला दिने क्रममा सबभन्दा पहिले के के गर्ने? अनि पालैसँग के के गर्दै जाने भन्ने कुराको टुंगो प्राथमिकता क्रममा राखेर योजना मिलाउनु आवश्यक
छ । आफ्नो राष्ट्रमा के के काम सम्पन्न गराउँदै लान सके जनताको दुःख हट्दै जान्छ, यसमा देश बनाउन अधिकार पाउनु हुने व्यक्तित्वहरुले बुझ्नै पर्दछ । तर ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भयो भने देशले दुःख पाउन सक्छ, जनताहरु आतिन थाल्छौं । अनि लथालिंगे देशको भताभुंग चाला भनेझैं नहोला भन्न सकिन्न । यस्तै अवस्था छ भन्न खोजिएको होइन बरु यस्तो चाहि नहोस् भन्न मात्र भनेको हो । अब जसरी हुन्छ आफ्नो देश बनाउन आफ्नै देशका स्वदेशी बन्धु नागरिकहरुलाई होस्टेमा हैंसे भन्ने बल दिएर जनतालाई काम गर्न सिपालु बनाएर कायक्षेत्रमा उत्रिन कोसिस गरौं भनेर यो लेखको अभिव्यक्ति हो । कसैलाई दोषारोपण गर्ने दुर्नियत होइन, आत्मीय सदस्यतापूर्ण सल्लाह हो । प्राथमिकताको आधारमा कार्ययोजना बनाएर देशलार्य पुगेर पनि उब्रिने अन्न फलायौं, नागरिकहरुलाई ढुक्कसँगै जीवन धान्ने शान्त वातावरण भएको बासको व्यवस्था भयो, मानिस भउर बाँच्ने चिजबिजहरुको कुनै खाँचो छैन, आफुले मन लागेको काम सिकेर अर्थोपार्जन गर्न सकियो, बिरामी हुँदा पनि सजिलै निको हुन पाइन्छ, आफुले सके जानेको काम गर्न पाइन्छ, यताउता जानुप¥यो भने रमाइला बाटाघाटा हिड्न पाइन्छ । रातपर्दा कसैले अँध्यारोमा बस्नु पर्दैन, आफ्नो ठाउँमा काम नपाएर विदेशीनु पर्दैन भने हामी जनताहरु यो देशको लागि मरिमेटेर लाग्न सक्छौं । देशमा अशान्ति हुन दिदैनौं, देश गौरवशाली भएर अघि बढ्छ, ओजश्वी राजनीतिले अग्रगामी पाइला चाल्न सक्छ । यसर्थ हामी जनतालाई सजिलोसँग काम गर्ने वातावरण मिल्यो भने देश बिग्रीने होइन सप्रिने सम्भावना छदैछ ।
राजनैतिक क्षेत्रमा समर्पित हुनुभएका ओजश्वी महानुभावहरुले आफ्नो मातृभूमिको काखलाई आफ्नै आमो काख सम्झिएर अनि स्वदेशी बन्धु जनता जनाद्र्धनलाई पनि आफ्नो सहोदर दाजुभाइ, दिदीबहिनी मानेर सबै मिलिजुली गर्दै आमाको हृदयलाई प्रफुल्लित बनाउन आफुले जानेसम्म, बुझेसम्म र सकेसम्म लागि परेर सुहाउदिलो, सक्ने कामहरु दिएर कार्यक्षेत्रमा उतारिदिनु भयो भने मातृभूमिको काख उज्यालो हुन सक्छ, आमाको आत्मा रमाउन सक्छ अनि हामी सन्तान दर सन्तानले सुखको अनुभव गर्नैछौं, देशको भविष्य उज्जवल हुनेछ ।








