कांग्रेसभित्र महाधिवेशन विवाद झन् पेचिलो बन्दै

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनको कार्यतालिका ल्याउने प्रयासमा पार्टीका सबै पक्षका नेताहरुका बिचमा पटक पटक छलफल र बैठक बसे पनि नेताहरुको आ–आफ्नै अडानका कारण सहमति कहिले जुट्छ भन्ने टुंगो लाग्न नसकेको कांग्रेस निकट स्रोतले बताएको छ । स्वास्थ्य उपचारपछि काठमाडौं आइपुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको विवाद टुंगो लगाउन नेताहरुको छलफललाई तिव्र बनाएका छन् । विशेष महाधिवेशनका पक्षमा रहेका महामन्त्रीहरुका साथसाथै आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन अघि नै महाधिवेशनको पक्षमा देखिएका संस्थापन इतर पक्षका नेता शेखर कोइराला सहितका नेताहरुसँग सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि छलफल चाहि जारी राखेका छन् । साथै पार्टीका पूर्वपदाधिकारीहरुसँग छलफल तिव्र भइरहँदा पनि सहमति कहिले हुने भन्ने कुराको ठेगान छैन । संस्थापन पक्षले फागुन २१ का लागि निर्वाचनमा जुट्ने र पार्टी महाधिवेशन चुनावपछि गर्ने भने पनि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहितका नेताहरु विशेष महाधिवेशनलार्य टान नसकिने बताईरहँदा सहमति जुट्न नसकेको कांग्रेस निकट एक नेताले बताए ।
नियमित महाधिवेशनको पक्षमा उभिएका कांग्रेस नेता शेखर कोइराला पुषको अन्तिम सातासम्म महाधिवेशन गर्ने पक्षमा छन् । त्यसले विशेष महाधिवेशनको मागसहित हस्ताक्षर बुझाएका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको भावना समेटिने कोइरालाले दाबी समेत गरेका छन् । सोही अनुसार महाधिवेशनको कार्यतालिका ल्याउनु पर्ने जनाउँदै कोइरालासहितका नेताहरु दुवै पक्षलाई सहमतिमा ल्याउने प्रयासमा रहेको कांग्रेस निकट स्रोत बताउछ ।
तर दुवै पक्षले ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने उखानझैं आ–आफ्नो अडानबाट टसमस नभएपछि कांग्रेस विवाद झन् पेचिलो बन्दै गएको छ । दुर्घटनाबाट पार्टी जोगाउन प्रयास जारी छ, कांग्रेस निकट नेताले भने ।
भदौं २४ गतेपछि परिवर्तन भएको राजनीतिक अवस्थाबारे निर्णय लिन कांग्रेस केन्द्रीय समितिको बैठक असोज २८देखि सुरु भएर पनि अहिलेसम्म सहमति निकाल्न सकेको छैन । बैठक पटक पटक सर्दै आएको छ । कांगे्रस नेता ज्ञानेन्द्र बहादुर कार्कीले भने ‘सभापति देउवा पार्टी एकताको बृहत पक्षमा हुनुहुन्छ, पार्टीलाई कसरी एकता बनाएर लान सकिन्छ भन्ने मात्र उहाँको चिन्ता छ ।’

LEAVE A REPLY