८ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीचको भेटले जेनजीलाई उत्साही बनाएको छ । वैकल्पिक शक्ति मिल्नुपर्ने दबाब बनाउँदै आएका जेनजी रवि—बालेनको सोमबारको वार्तापछि उत्साही देखिएका हुन् ।
रास्वपा केन्द्रीय सदस्य असिम साहको म्युजिक कम्पनीको कार्यालय रहेको भवनमा बालेन र रविबीच गएराति करिब ७ घण्टा वार्ता भएको थियो ।
वार्तापछि उनीहरू एउटै गाडीमा बाहिरिएका थिए । करिब पाँच घण्टा रवि र बालेनबीच ‘वान वन वान’ वार्ता भएको पनि स्रोतले बताएको छ
राजनीतिक एकताको गृहकार्यमा भएको सो वार्तालाई लिएर जेनजीहरू उत्साही देखिन्छन् । त्यसमाथि रवि र बालेनबीच प्रधानमन्त्रीसम्मकै बाँडफाँटको कुरा मिलेको समाचारले उनीहरू एकता नजिक रहेको संकेत देखिन्छ ।
रवि—बालेन वार्ताले आफूहरू उत्साही र आशावादी रहेको भन्दै द काउन्सिल अफ जेनजीका अगुवा सुदन गुरुङले अब कुलमान घिसिङलाई पनि जोड्न पाए गज्जब हुने बताए ।
‘अब म आफैँले पनि रवि लामिछाने, बालेनज्यूलाई भेट्नुपर्छ, मिल्नुपर्छ भनेर दबाब दिएको हुँ । मैले मात्र पहल गरेर भेटाएको भन्दा पनि सहजीकरण गरेको हुँ,’ गुरुङले भने, ‘अब यसमा कुलमान घिसिङलाई पनि सँगै ल्याउनुपर्छ । त्यति गरेपछि मन अलि शान्त हुन्छ ।’
यदि रवि, बालेन र कुलमानहरू एक ठाउँमा आए भने आफूहरू पनि सोही पार्टीमा जोडिने सम्भावना प्रवल रहेको संकेत गुरूले गरे ।
‘यसरी एक हुनुपर्छ भनेर हामीले नै यो कदम चालेका हौं । प्रधानमन्त्रीमा बालेन हुनुपर्छ भनेर हामीले पनि जोडबल गरिरहेका छौँ, किनभने रवि लामिछानेको त विभिन्न ‘केस’ छन् नि त । त्यसैले अब उनीहरू मिले भने त्यही पार्टीमा हामी जोडिने सम्भावना धेरै छ ।’








