काठमाडौं । नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित र सहज बनाउने उद्देश्यसहित नयाँ निर्देशन जारी गरेको छ। महामन्त्री गगनकुमार थापाले देशभरका जिल्ला समितिलाई लक्षित गर्दै चार बुँदे परिपत्र सार्वजनिक गरेका हुन्।
मंगलबार साँझ जारी गरिएको परिपत्रमा १५औँ महाधिवेशनको कार्यतालिकालाई आधार मानेर नयाँ क्रियाशील सदस्यता वितरण गर्न निर्देशन दिइएको छ। साथै, पार्टीको विधान, नियमावली, केन्द्रीय कार्यसमितिका निर्णय र अघिल्ला केन्द्रीय परिपत्रअनुसार सदस्यता वितरण प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ।
महामन्त्री थापाले सदस्यता अभियानलाई सहज र व्यापक बनाउने पार्टीको नीतिअनुसार आवश्यक मापदण्डसमेत जिल्लाहरूमा पठाइसकेको जानकारी दिएका छन्। यसले पार्टी संगठनलाई बलियो बनाउने र नयाँ सदस्यहरूलाई समेट्ने लक्ष्य राखिएको छ। कांग्रेस नेतृत्वले सदस्यता वितरणलाई पारदर्शी र समन्वयपूर्ण बनाउँदै महाधिवेशन तयारीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ।








