काठमाडौं — उज्यालो नेपाल पार्टीसँग राष्«िय स्वतन्त्र पाटीैको विच सात बुँदे सहमति गर्दै एकता भएको छ । एकता भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को चुनाव चिह्न घण्टी नै रहने भएको छ। सोमबार साँझ भएको निर्णायक वार्तामा उज्यालो नेपाल पार्टीले आफ्नो अडान त्यागेपछि एकीकृत पार्टीको चुनाव चिह्न घण्टी नै रहने विषयमा सहमति जुटेको हो।
यसअघि एकतासम्बन्धी पटक–पटक भएका छलफलमा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले पार्टीको नाम रास्वपा नै रहने भए चुनाव चिह्न ‘बलिरहेको बत्ती’ हुनुपर्ने अडान राख्दै आएका थिए। तर अन्तिम वार्तामा उज्यालो नेपाल पार्टीले आफ्नो अडान परित्याग गरेपछि सातबुँदे सहमतिको तेस्रो बुँदामा एकीकृत पार्टीको चुनाव चिह्न घण्टी रहने स्पष्ट रूपमा उल्लेख गरिएको छ।
सहमति अनुसार एकीकृत पार्टीको झण्डा पनि साविककै रहनेछ। निलो पृष्ठभूमिको बीच भागमा सेतो गोलाकार र त्यसको भित्र निलो रङको घण्टी रहने गरी झण्डा कायम रहने निर्णय गरिएको छ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ।
एकता सम्झौतामा एकीकृत पार्टीमा तीन उपसभापति रहने व्यवस्था गरिएको छ। बालेन्द्र शाहको साक्षीमा रास्वपाका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सातबुँदे सहमतिको चौथो बुँदामा भनिएको छ,“राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने।”यस अनुसार उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ तीन उपसभापतिमध्ये पहिलो वरियतामा रहने भएका छन्। यस एकतासँगै रास्वपाले संगठनात्मक र राजनीतिक रूपमा नयाँ उचाइतर्फ अघि बढ्ने संकेत देखिएको राजनीतिक विश्लेषकहरू बताउँछन्।








