१६ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिकको मर्म विपरीत उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेश गरेको भन्दै चौतर्फी प्रश्न उठेपछि मूल नेतृत्व सहित शीर्ष तहका नेताले स्पष्टीकरण दिएका छन् ।
तीन पक्षबाट संकलन गरेर निर्वाचन आयोगमा पेश गरेका कतिपय नाममा पार्टीभित्र र बाहिरबाट रास्वपाको आलोचना भएको छ । रास्वपा, उज्यालो नेपाल पार्टी र काठमाडौं महानगरका प्रमुख बालेन शाह पक्षबाट नामहरू संकलित गरेर ११० उम्मेदवारको बन्दसूची पेश गरिएको छ । तीन पक्षबाट नै पेश भएका कतिपय नाममा विरोध भइरहेको छ ।
चौतर्फी विरोध भएपछि रास्वपाका सभापति रवि लामिछाने र ऊर्जामन्त्री कुलमान घिसिङले स्पष्टीकरण दिएका छन् । रास्वपातर्फबाट पेश भएका नामहरूमा प्रारम्भिक मतदानबाट शीर्ष स्थानमा आएकालाई हटाएर सभापति रविले आफू निकटलाई स्थान दिएको आरोप लागेको छ ।
कुलमानले परिवारवादलाई प्रश्रय दिएको पार्टीभित्रैबाट प्रश्न उठेको छ । बालेन पक्षबाट समावेश भएका नामहरूमा ‘पहुँचवाला’लाई स्थान दिएको भन्दै विरोध भएको छ
पोखरामा बुधबार सञ्चारकर्मीसँग रास्वपा सभापति लामिछानेले केही समस्या भएको र हुनसक्ने भए त्यसमा पुनरावलोकन गरिने बताए । ‘हामी सचेत छौं । तर समयले गर्दा अरु दुई दिन पनि अरु केही विवाद छन् कि भनेर हामी वेट गरेका छौं । यो दुई दिनमा जति पनि जायज गुनासो छन्, सबै सम्बोधन गर्छौं । हामीले बोक्नुपर्ने एक जना मान्छे पनि छैन पार्टीमा,’ लामिछानेले भनेका छन् ।
प्रारम्भिक मतदानमा पहिलो स्थानको मत ल्याएको तर सूचीको समावेश नगरेको भन्दै सूचीप्रति आपत्ति जनाइएको छ । आदिवासी जनजातिमा पहिलो स्थानको मत ल्याएका उत्तमबहादुर गुरुङ र दलिततर्फ सर्वाधिक मत प्राप्त गर्ने विजय जैरु बन्द सूचीमा अटेनन् । खसआर्य महिलातर्फ सर्वाधिक मत प्राप्त गरेकी रञ्जु दर्शना १० औं नम्बरमा परेकी छन् । जनजातितर्फ डा.राम लामाको नाम पहिलो नम्बरमा राखिएको छ ।
खस आर्यतर्फ पहिलो नम्बरमा रहेका रमेश प्रसाईं उक्त क्लष्टरमा पहिलो स्थानमा राखिएको छैन । खस आर्यको पहिलो स्थानमा सहमहामन्त्री विपिनकुमार आचार्यको नाम समावेश छ । खस आर्यमा महिलातर्फ सहप्रवक्ता प्रतिभा रावलको नाम छ ।
विधिभन्दा बाहिरबाट उम्मेदवार समावेश रहेको भए फिर्ता गरिने समेत रास्वपा सभापति लामिछानेले बताएका छन् । उनी भन्छन्, ‘रास्वपासँग विधिसँग छ, विधिभन्दा बाहिर हामी कुनै हालतमा जाँदैनौं । परिवारवादमा रास्वपा स्पष्ट छ । विधानले नै दिँदैन । कथंकदाचित यी सबै विधिहरू नाघेर जानु भएछ भने राइट टू रिकलको व्यवस्था रास्वपाको विधानले नै गरेको छ ।’
रास्वपामा पहिलो वरीयताको उपसभापति पद लिएर उज्यालो नेपाल पार्टीलाई समायोजित गरेका कुलमानले समानुपातिकका नाममा आफन्तलाई प्रश्रय दिएको आरोप लागेको छ । आदिवासी जनजाति क्लष्टरमा पहिलो नम्बरमा रहेका डा. राम लामा कुलमानको भाञ्जा रहेको भन्दै उनको आलोचना भएको थियो । । उक्त विषयमा उज्यालो नेपालको मंगलबार राति बसेको बैठकमा समेत चर्चा भएको थियो







