पोखरा रङ्गशालामा भलिबलको महाकुम्भ हुदै

, पोखरा, पोखरामा भोली शुक्रबार माघ ९ देखि १७ गते सम्म एन सेलको मुख्य प्रायोजनमा राष्ट्रिय खेल भलिबलको महाकुम्भ सुरु हुदै छ । टाइगर ग्रुप अफ पोखराले विगत पाँच वर्षदेखि निरन्तर रूपमा सञ्चालन गर्दै आएको ‘एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता २०८२’ अन्तर्गतको छैठौं संस्करण माघ ९ देखि १७ गतेसम्म हुने भएको हो ।
पोखरा रङ्गशालाको भलिबल ट्रेनिङ सेन्टरमा सञ्चालन हुने उक्त प्रतियोगितामा महिला तर्फ पाँच र पुरुष तर्फ छ टोली सहभागी हुने छन् । यसपटक विदेशी टोलीको पनि रोमान्चक भिडन्त देख्न पाइने भएको छ । संस्थाले सार्वजानिक गरेको खेल तालिका अनुसार महिला तर्फ थाइल्याण्डको थाइल्यान्ड क्विन्ससहित पाँच टोलीले प्रतिस्पर्धा गर्ने छन् भने पुरुषतर्फ माल्दिभ्सको राष्ट्रिय भलिबल टोलीसहित छ टोली मैदानमा उत्रिने छन् ।
महिला र पुरुष दुवै तर्फहुने तीन खेल मध्ये महिला तर्फ बिहान ९ बजे टिपटप न्यू डायमन्ड स्पोट्र्स क्लब र त्रिभुवन आर्मी क्लबबिच खेल हुने छ । त्यसैदिन पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र माल्दिभ्स तथा उदघाटन खेल दिउँसो २ बजेपछि घरेलु टिम गण्डकी प्रदेश भलिबल सङ्घ र नेपाल एपीएफ क्लबबिच खेल हुने भएको संस्थाका सचिव डिबी नेपालीले जानकारी दिनुभयो ।
प्रतियोगिता राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन हुने छ ।

प्रतियोगितामा विजेता टोलीले छ लाख ६६ हजार छ सय ६६, उपविजेताले तीन लाख ६६ हजार छ सय ६६ र तेस्रो हुने टोलीले दुई लाख ६६ हजार छ सय ६६ प्राप्त गर्ने छन् । त्यसैगरी सर्वोत्कृष्ट खेलाडी र विधागत उत्कृष्ट खेलाडीहरूलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

LEAVE A REPLY