काग्रेस पार्टी भित्रको एकता निरन्तर सुदृढ बन्दै गएको छः प्रवक्ता देवराज चालिसे

२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीभित्रको आन्तरिक एकता निरन्तर सुदृढ बन्दै गइरहेको दाबी गरेका छन् । शनिबार प्रवक्ता चालिसेले एक प्रेस विज्ञप्ति जारी गर्दै निवर्तमान पदाधिकारी पनि निर्देशन गर्ने कार्यमा संलग्न रहेको दाबी गरेका हुन् ।
‘विशेष महाधिवेशनको पृष्ठभूमिलगायतका कारणले पार्टीको नेतृत्व र ग्रासरुटमा कुनै अलमल, असहयोग वा गुनासोको अवस्था छ कि भन्ने प्रश्नमा हामी प्रष्ट पार्न चाहन्छौँ कि कांग्रेस निर्वाचनसँगै आन्तरिक एकताका सवालमा निरन्तर सुदृढ बन्दै गइरहेको छ,’ प्रवक्ता चालिसेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सबैले निर्वाचनको महत्व र सान्दर्भिकतालाई हृदयंगम गरेको परिप्रेक्ष्यमा निवर्तमान पदाधिकारी तथा वरिष्ठ नेतागण क्षेत्र क्षेत्रमा गई सहयोग र निर्देशन दिने कार्यमा क्रियाशील हुनुहुन्छ ।’

यतिबेला संसारभर लोकतान्त्रिक परम्परा र मूल्यमाथि प्रहार भइरहेको अवस्था सबैलाई ज्ञात रहेको पनि विज्ञप्तिमा उल्लेख छ । ‘लोकतन्त्रमाथिको संक्रमण कहीँ देखिने अनि कहीँ त्यो निवारण हुने श्रृंखला निरन्तर चलि नै रहन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
छिमेकी राष्ट्रहरूमा सकारात्मक घटना देखिएको खण्डमा त्यसलाई ‘नोटिस’मा राख्ने विषय सचेत राजनीतिकर्मीका लागि महत्वपूर्ण रहेको प्रवक्ता चालिसेले भनेका छन् । यद्यपि हाम्रो मूल प्राथमिकता आफ्नै देश र आफ्नै कर्म हुने पनि उनले बताएका छन् ।

LEAVE A REPLY