देश खतरामा छैन, हेट स्पीचको राजनीति अन्त्य हुँदैछः बरिष्ठ पत्रकारविन्दुकान्त घिमिरे

—राम प्रसाद गैरे
काठमाडौं । बरिष्ठ पत्रकार बिन्दुकान्त घिमिरेले पूर्वराजा ज्ञानेन्द्र शाहले देश खतरामा छ भनेर लगाउँदै आएको आरोपमा कुनै तुक नभएको बताएका छन । बुधवार सामाजिक संजाल फेसबुकमार्फत यस्तो बताएका हुन । बुधबार जनकपुर र धनगढीबाट आएका दुई प्रभावशाली राजनीतिक अभिव्यक्तिले यही यथार्थलाई पुष्टि गरेको उनको ठहर छ ।
घिमिरेका अनुसार जनकपुरमा नेपाली कांग्रेसका सभापति गगन थापाले दिएको अभिव्यक्ति र धनगढीमा काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र शाहले प्रस्तुत गरेको तथ्यमा आधारित प्रस्तुतीकरणले देश र गणतन्त्र जोगाउन होनाहार युवा नेतृत्व उदाइसकेको सन्देश दिएको छ । अब देश संकटमा छ भनेर डर देखाउने भाष्य आफैं कमजोर बन्दै गएको उनको टिप्पणी छ ।
उनले फेसबुकमा लेखेका छन्, “देश जोगाउन डर होइन, दृष्टि चाहिन्छ । गणतन्त्र जोगाउन घृणा होइन, जिम्मेवार नेतृत्व चाहिन्छ ।” घिमिरेले थप उल्लेख गरेका छन् कि हेट स्पीच र विभाजनको राजनीतिले समाजलाई अघि बढाउन नसक्ने कुरा अब जनताले बुझिसकेका छन् ।
पूर्वराजा शाहका अभिव्यक्तिहरूप्रति संकेत गर्दै घिमिरेले भनेका छन्, “पूर्वराजा शाहले मुख नमिठ्याउँदा जाति होला,” अर्थात् समाजलाई बाँड्ने अभिव्यक्तिले अन्ततः आफैंलाई नै अलग्याउने खतरा हुन्छ । उनका अनुसार अहिलेको समय नयाँ पुस्ताका नेताहरूले तथ्य, काम र उत्तरदायित्वका आधारमा राजनीति गर्ने युगको सुरुआत हो ।
समग्रमा, जनकपुर र धनगढीबाट आएको सन्देशलाई घिमिरेले मुलुकमा हेट स्पीचको युग समाप्त हुँदै गएको स्पष्ट संकेतका रूपमा व्याख्या गरेका छन् । डरको राजनीतिभन्दा समाधानको राजनीतिले अब जनताको भरोसा जित्दै गएको उनको निष्कर्ष छ ।

(खबर बे्रकिड. डटकमबाट साभार)

LEAVE A REPLY