काठमाडौं । यस पटकको प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणाम राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाको पोल्टामा गएको छ । रास्वपा झण्डै दुई तिहाई उम्मेदवार विजयी भएका छन् । प्रतिनिधि सभाका जम्मा २७५ सदस्यमध्ये १८२ सिट रास्वपाका आएका छन् । यो जितसँगै अब रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बन्न बाटो खुला भएको छ । निर्वाचन परिणामसँगै बालेन प्रधानमन्त्री भएको हेर्न समस्त देशवासीले बेग्र प्रतिक्षा गरिरहेको देखिन्छ । प्रतिनिधिसभा अन्र्तगतको प्रत्यक्ष र समानुपातिकको मत परिणाम सार्वजनिक भइसकेको भए पनि कानूनी प्रक्रियाले मात्र बालेन प्रधानमन्त्री बन्न ढिलाई भएको हो । रास्वपाले बालेनलाई संसदीय दलको नेता चयन गरेपछि बालेन नै मुलुकको प्रधानमन्त्री बन्ने पक्का छ । निर्वाचन आयोग र संसद सचिवालयले केही प्रक्रिया पुरा गरेपछि चैत्र १० गतेभित्र नयाँ सरकार गठन हुने देखिएको छ । मतपरिणामको अन्तिम नतिजासहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि नयाँ सरकार गठन प्रक्रिया आरम्भ हुने आयोगका अधिकारीले बताएका छन् ।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार राष्ट्रपतिले अन्तिम मतपरिणा प्रतिवेदन प्राप्त गरेपछि औपचारिक रुपमा सरकार गठन आह्वान गर्नेछन् । ‘ढिलोमा चैत्र १५ भित्र देशले नयाँ सरकार पाउने देखिन्छ । संसद सचिवालयका प्रवक्ता गिरी भन्छन् ।
यसरी हेर्दा अबको १५ दिनभित्र देशले नयाँ प्धानमन्त्री पाउने भएको छ । रास्वपाबाट संसदीय दलको नेता चयन हुँदै प्रधानमन्त्री हुन मात्र बाँकी रहेको अवस्था छ । बालेनलाई प्रधानमन्त्रीका उम्मेदवार घोषणा गर्दै रास्वपा फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा होमिएको थियो । संसदमा स्पष्ट बहुमत रहेकाले नयाँ प्रधानमन्त्रीलाई संसदबाट विश्वासको मत लिन जरुरी हुँदैन ।
नेपाली जनताले रास्वपाका वरिष्ठ नेता बालेन शाह र सभापति रवि लामिछानेलाई समान रुपले मनपराएको निर्वाचनको क्रममा देखियो । अब उहाँहरु दुवैलाई समान रुपमा मिलेर अघि बढुन् भन्ने जनादेश हो । पार्टी रविले चलाउने सरकार बालेनले चलाउने यही हो निर्वाचन अघिको दुई नेताहरुबीच भएको सहमति । दुवै जनताले विश्वास गरेका जनाधार भएका नेता हुन् । झापामा ६८ हजार मत ल्याएर बालेन मतदाता माझ कति लोकप्रिय रहेछन् भन्ने प्रमाणित भएको छ । एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीलाई करिब ५० हजार मतान्तरले हराउनु सानो कुरा होइन । लोकतान्त्रिक पद्दति बसे यता एउटा उम्मेदवारले ६८ हजार मत ल्याएको देखिएको छैन ।
यस पटकको निर्वाचनको रोचक पक्ष के थियो भने देशका ठूलाठूला नेता पनि यस पटक रास्वपाका सामु सानो सावित भए । यस पटक घण्टीलाई जिताउने भन्दै देश भरका मतदाता मैदानमा उत्रिए । कसैले नचिताएको सुनामी रास्वपाको पक्षमा आयो । उम्मेदवारको मुख हेर्नुभन्दा मतदाताले घण्टीलाई जिताउँछौं भनेर लागे । यो सबै सम्भव भएको रवि र बालेनकै लोकप्रियताले हो । त्यसैले यी दुई नेतामा कहिल्यै तितोपन नहोस्, जनतामा गरेको बाचा यी नेता मिलेर पुरा गरुन, यही मतदाताको मनसाय पनि हो ।







