आशाको मुना पलायो

सम्पादकीय

देश अब नयाँ परिवर्तन तर्फ अगाडि बढेको छ । एमाले, कांग्रेस, तत्कालिन माओवादी केन्द्रले पटक पटक सरकारको नेतृत्व गरे । दुईतिहाइको सरकार पनि बनाए, मिलिजुली सरकार पनि बनाए तर जनताका अपेक्षा अनुसारका प्रत्यक्ष रुपमा देख्न सक्ने खालका कामहरु गर्न सकेनन् । २०४६ सालदेखि २०८२ सालको आधाउधी अर्थात् ३६ वर्षसम्म सरकारको नेतृत्व गरेका राजनीतिक दलहरुले पञ्चायतकालको भन्दा धेरै विकासका लहर त ल्याए तर विकासका नाममा धेरै भ्रष्टाचार गरे । प्राय कुनै पनि दल नेतृत्वले पुरा समय ५ वर्षसम्म सरकार सञ्चालन गर्न सकेनन् । यसैका कारण जेनजीहरुले भाद्र २३ र २४ गते आन्दोलन गर्न बाध्य भए । आन्दोलनका क्रममा देशमा राजनीतिक परिवर्तन आउँदा यो परिवर्तनले सर्वत्र आशाको मुना पलाउन थालेको छ । यो परिवर्तन आउनका लागि युवाहरुको भूमिका महत्वपूर्ण रहेको छ । र नेतृत्व पनि युवाकै काँधमा गएको छ ।
जेनजी आन्दोलनपछि आएको परिवर्तनले देशमा सुशासन कायम, भ्रष्टाचारको अन्त्य, बेथितिको अन्त्य, देशमै रोजगारीको व्यवस्था गर्ने आशाको मुना पलाएको हो । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा बिना रक्तपात निर्वाचन गराउन सक्नु र रास्वपाले एकलौटी रुपमा सरकार बनाउने अवसर पाउनु भनेको देशमा विकासको लहर आउने लक्षण हो । रास्वपाले इच्छा शक्ति देखाएर काम गर्नेतर्फ दृढ भएर अगि बढ्यो भने यसमा कसैको रोकतोक हुने छैन । अब बन्ने सरकार ५ वर्षसम्म ढुक्कसँगले चल्ने र कुनै राजनीतिक दाउपेच नहुने हुँदा आशाको मुना पलाउन थालेको हो ।
पुराना राजनीतिक दलहरुको सत्ता मोह र आन्तरिक झगडा देखेर आजित भएका आम सर्वसाधारण जनताले रास्वपालार्य एकलौटी सरकार सञ्चालन गर्न पुग्ने गरी बहुमत दिएका छन् । यो अवसरलाई रास्वपाले सदुपयोग गर्न सकेन भने र आत्तिन र मात्तिन थाल्यो भने उसको हालत लामो समय इतिहास बोकेका रणनीतिक दलको भन्दा पातलो हुने निश्चित नै छ । किनकी लोकतान्त्रिक प्रणालीमा जनता र उनले दिएको मत नै शक्तिशाली हुन्छ भन्ने कुराको प्रमाण पुराना दलको पत्ता साफले पुष्टि गरिसकेको छ । त्यसैले अब रास्वपाले नीजि क्षेत्रलाई हातमा लिएर, मित्र राष्ट्र भारत, चीन, अमेरिकालगायतका सर्वसम्पन्न राष्ट्रहरुप्रति सन्तुलित व्यवहार गरेर मन जीति सरसहयोग आदानप्रदान गर्न सक्नु नै राज्य सञ्चालन गर्ने सही उपाय हो । साथै पुराना राजनीतिक दलहरुसँग पनि सरसल्लाह लिँदै साथ सहयोग लिन सक्नु पर्दछ ।

LEAVE A REPLY