रुषा थापा
आजको समयमा आम सर्वसाधारणले पत्रपत्रिका किन किन्छन् भन्ने प्रश्न निकै महत्वपूर्ण छ । सामान्यतया नागरिकले पत्रपत्रिका किन्ने मुख्य कारण समाचार प्राप्त गर्नु हो । देश वा विदेशमा के भइरहेको छ, समाजमा कस्ता घटना–दुर्घटना भइरहेका छन्, राज्यका निकायमा के निर्णय हुँदैछन्, कहाँ अन्याय भयो, कहाँ भ्रष्टाचार भयो—यस्ता जानकारी प्राप्त गर्नका लागि नागरिकले पत्रपत्रिका किन्छन् । सूचना पाउनु नागरिकको अधिकार पनि हो । यही अधिकार पूरा गर्न सञ्चारमाध्यम अस्तित्वमा आएका हुन् ।
तर पछिल्लो समय नेपाली सञ्चारमाध्यमको अवस्थालाई नियाल्ने हो भने चिन्ताजनक दृश्य देखिन्छ । राष्ट्रिय दैनिक, साप्ताहिक वा मासिक पत्रपत्रिकाहरूमा सूचना र समाचारभन्दा विज्ञापन र बैंक–वित्तीय संस्थाका धितो लिलामी सूचनाहरू अत्यधिक देखिन थालेका छन् । कतिपय पत्रिकामा त चार पानामध्ये दुई पाना भन्दा बढी विज्ञापनले भरिएको हुन्छ । बाँकी पानामा पनि जनतासँग सम्बन्धित समाचारभन्दा राजनीतिक दल र नेताका गतिविधिहरू मात्र प्राथमिकतामा परेको देखिन्छ ।
प्रश्न उठ्छ—बिहानै उठेर पसलसम्म पुगेर नागरिकहरूले विज्ञापन हेर्नका लागि पैसा तिरेर पत्रपत्रिका किनिरहेका हुन् त? पक्कै पनि होइन । नागरिकले समाचार र जानकारीका लागि पत्रपत्रिका
किन्छन् । तर समाचारको स्थानमा विज्ञापन मात्र देखिन थालेपछि नागरिक निराश हुनु स्वाभाविक हो ।
पत्रकारिता कुनै सामान्य व्यवसाय मात्र होइन । पत्रकारिता राज्यको चौथो अंगका रूपमा चिनिन्छ । यसको मुख्य उद्देश्य समाजमा भइरहेका गतिविधिहरूको निगरानी गर्नु, गलत कार्यलाई उजागर गर्नु र जनताको आवाजलाई सशक्त रूपमा प्रस्तुत गर्नु हो । पत्रकारिता समाजको पहरेदार
हो । समाजमा के भइरहेको छ, राज्यका निकायमा कस्ता अनियमितता भइरहेका छन्, कसले जनताको अधिकार हनन गरिरहेको छ—यी सबै विषय सार्वजनिक गर्नु पत्रकारको जिम्मेवारी हो ।
तर विडम्बना, अहिलेका धेरै पत्रकार र सञ्चारमाध्यमहरू समाज र जनताप्रति जिम्मेवार देखिँदैनन् । समाचार खोज्ने संस्कार कमजोर बन्दै गएको छ । धेरैजसो समाचार कपी–पेस्ट गरेर प्रकाशित गरिन्छन् । कतिपय अवस्थामा कुनै संस्था वा व्यक्तिले ठूलो गल्ती गरे पनि विज्ञापन दिएको भरमा समाचार दबाउने प्रवृत्ति देखिन्छ । यसले पत्रकारिताको विश्वसनीयतामा गम्भीर प्रश्न उठाएको छ ।
पत्रकारले सत्यलाई सत्य र गलतलाई गलत भनेर लेख्नुपर्छ । यही पत्रकारिताको धर्म हो । तर अहिले कतिपय पत्रकारहरू राजनीतिक दलका झोले बनेका छन् भन्ने आरोप पनि लाग्ने गरेको छ । उनीहरू दल, नेता वा स्वार्थी व्यक्तिको पछि लागेर समाचार बनाउने गरेको देखिन्छ । जनताका समस्या, पीडा र दुःखलाई भने बेवास्ता गर्ने प्रवृत्ति बढ्दो छ ।
जब पत्रकार नै स्वार्थमा बिक्न थाल्छन्, तब समाजमा भ्रष्टाचार र बेथिति बढ्नु स्वाभाविक हुन्छ । किनकि भ्रष्टाचार र अनियमितता उजागर गर्ने जिम्मेवारी पत्रकारको हो । तर पत्रकार नै मौन बस्ने हो भने राज्यका निकायहरूमा गलत कार्य गर्नेहरूलाई झन् प्रोत्साहन मिल्छ ।
अहिले पत्रकारिताको अर्को ठूलो समस्या भनेको पेशागत आचारसंहिताको उल्लंघन पनि हो । कतिपय व्यक्तिहरू प्रेस कार्डको आडमा अरूलाई डर, धम्की देखाएर आर्थिक लाभ उठाउने प्रयास गरिरहेका छन् भन्ने आरोप बारम्बार सुनिन्छ । यसले पत्रकारिता पेशालाई बदनाम बनाइरहेको छ । एउटा सम्मानित पेशा नै शंकाको दृष्टिले हेर्ने अवस्था सिर्जना भएको छ ।
केही दशक अघिसम्म पत्रकारको समाजमा निकै सम्मान थियो । पत्रकारलाई समाजका सचेत नागरिकका रूपमा हेरिन्थ्यो । उनीहरूको कुरा सुन्ने, सुझाव मान्ने र सहयोग गर्ने वातावरण थियो । पत्रकारलाई जनताको आवाजको प्रतिनिधि मानिन्थ्यो । तर अहिले अवस्था उल्टो हुँदै गएको देखिन्छ । धेरै सर्वसाधारणले पत्रकारिता पेशालाई सकारात्मक दृष्टिले नहेर्ने अवस्था बनेको छ ।
आज धेरै नागरिकहरू भन्छन्– पत्रकारिता भनेको अरूलाई थर्काएर पैसा कमाउने पेशा भयो । यस्ता टिप्पणीहरू बढ्दै जानु पत्रकारिताका लागि गम्भीर चेतावनी हो । यसले देखाउँछ कि सञ्चारमाध्यमप्रतिको जनविश्वास कमजोर हुँदै गएको छ ।
केही दशकअघि मानिसहरू बिहानै पत्रिका किन्न लाइन लाग्थे । पत्रिका किन्नेको हानाथाप नै हुन्थ्यो । कुनै समाचार छुट्यो कि भन्ने उत्सुकता हुन्थ्यो । तर अहिले अवस्था ठीक उल्टो छ । कतिपय ठाउँमा त सित्तैमा पत्रिका दिँदा पनि मानिसहरूले लिन नमान्ने अवस्था आएको छ ।
यसको मुख्य कारण स्पष्ट छ—पत्रिकामा जनतासँग सम्बन्धित समाचारको अभाव। नागरिकहरू भन्छन्, “न्यूज नै छैन भने पत्रिका किन किन्ने? बेकारमा पैसा किन खर्च गर्ने ?” वास्तवमै धेरै पत्रपत्रिकामा प्रकाशित समाचारहरू एकलौटी हुन्छन् । कतै कसैको गुनगान गाइएको हुन्छ भने कतै कसैलाई अत्यधिक आलोचना गरिएको हुन्छ । समाचार पढ्दा नै थाहा हुन्छ—कुन पत्रिका कसको प्रभावमा चलिरहेको छ ।
अनलाइन सञ्चारमाध्यमहरूको अवस्था पनि खासै फरक छैन । अधिकांश अनलाइन मिडियामा एउटै समाचार विभिन्न शीर्षकमा प्रकाशित हुन्छ । धेरैजसो समाचार राजनीतिक दलका गतिविधि वा नेताहरूका अभिव्यक्तिमा सीमित हुन्छन् । जनतासँग प्रत्यक्ष सम्बन्धित विषयहरू भने कमै देखिन्छन् ।
पत्रकार भनेको सूचनाको धनी व्यक्ति हो । धेरैजसो अवस्थामा जनता र राज्य दुवैलाई थाहा नभएको जानकारी पत्रकारसँग हुनुपर्छ । तर अहिले उल्टो अवस्था देखिन्छ । कतिपय अवस्थामा जनता र राज्यलाई थाहा भएको विषयबाट पत्रकारहरु नै अनभिज्ञ देखिन्छन् ।
देशका धेरै ग्रामीण क्षेत्रमा अझै पनि आधारभूत सुविधा पुगेको छैन । कतै सडक छैन, कतै बिजुली छैन, कतै पुल छैन । कतिपय ठाउँमा विद्यालय र अस्पतालको अभाव छ । सामाजिक कुरीति अझै कायम छ । अपराधका घटनाहरू बढिरहेका
छन् । धनी र गरिबबीचको असमानता झन् गहिरिँदै गएको छ ।
धेरै किसान र सर्वसाधारण बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरका कारण ऋण तिर्न नसकेर मानसिक तनावमा छन् । कतिपयले आत्महत्या समेत गरेका समाचार सुनिन्छ । देशको सीमाना तिक्रमणका विषयहरू पनि समय–समयमा उठिरहेका छन् । तर यी विषयहरू प्रायः पत्रपत्रिकाको मुख्य समाचार बन्न सक्दैनन् ।
बरु कुन नेताले के भने, कुन दलले कस्तो बैठक गर्यो, कसले कसलाई आलोचना गर्यो, यस्ता समाचारहरू नै प्राथमिकतामा पर्छन् । यसले सञ्चारमाध्यम जनताभन्दा राजनीतिक शक्तिहरूप्रति बढी केन्द्रित भएको संकेत दिन्छ ।
आज महँगीका कारण जनताको जीवन अत्यन्त कठिन हुँदै गएको छ । बेरोजगारी बढ्दो छ । धेरै परिवारहरू दैनिक गुजारा चलाउन संघर्ष गरिरहेका छन् । कतिपय मानिसहरू भोकै बस्नुपर्ने अवस्थामा छन् । तर यस्तो पीडादायी अवस्था पनि धेरैजसो मिडियाको प्राथमिकतामा पर्दैन ।
जनता अब पहिलेभन्दा धेरै शिक्षित र सचेत भएका छन् । उनीहरूले सही र गलत छुट्याउन सक्छन् । कुन मिडिया निष्पक्ष छ र कुन पक्षपाती छ भन्ने बुझ्न उनीहरू सक्षम भएका छन् । त्यसैले सञ्चारमाध्यमप्रतिको विश्वास घट्दै गएको छ ।
यदि यही अवस्था कायम रहने हो भने भविष्यमा धेरै सञ्चार माध्यमहरू बन्द हुने अवस्था पनि आउन सक्छ । किनकि कुनै पनि मिडिया तबसम्म टिक्न सक्छ जबसम्म जनताको विश्वास र साथ हुन्छ । जनताको विश्वास गुमाउने हो भने कुनै पनि सञ्चारमाध्यम दीर्घकालीन रूपमा टिक्न सक्दैन ।
यसैले अहिले नै सञ्चार माध्यमहरूले आत्ममूल्यांकन गर्ने समय आएको छ । आफ्ना कमजोरीहरू स्वीकार गर्दै सुधारका प्रयास सुरु गर्न आवश्यक छ । पत्रकारिताको मूल उद्देश्य जनताको सेवा गर्नु हो भन्ने कुरा पुनः स्मरण गर्नुपर्ने बेला आएको छ ।
यदि सञ्चारमाध्यमहरूले आफ्नो जिम्मेवारी बुझेर निष्पक्ष, सत्य र जनमुखी पत्रकारिता गर्न सके भने जनताको विश्वास पुनः प्राप्त गर्न सकिन्छ । तर यदि विज्ञापन र नाफामुखी सोचमै सीमित रहने हो भने जनताले पुराना राजनीतिक दलहरूलाई अस्वीकार गरेझैं पुराना मिडियालाई पनि अस्वीकार गर्न धेरै समय लाग्ने छैन ।
त्यसैले सञ्चारमाध्यमहरूले समयमै सचेत भएर सुधारको मार्ग रोज्नु अत्यन्त आवश्यक छ । पत्रकारिताको विश्वसनीयता जोगाउन आजको सुधार भोलिको अस्तित्वका लागि अपरिहार्य छ ।







