सुनिल बाबु पन्त
इनिसाको न्याय माग्नु मात्र पर्याप्त छैन । न्याय त तब मात्र पूर्ण हुन्छ, जब समाजले यस्तो वातावरण निर्माण गर्न सक्छ जहाँ यस्ता पीडादायी घटनाहरू फेरि कहिल्यै दोहोरिन नपाऊन् । आज पनि हाम्रो समाजमा बालिका, स्कुले छात्रा, युवा महिला मात्र होइन, वृद्ध महिलासमेत यौन हिंसा र बलात्कारको सिकार भइरहेका छन् । यो केवल कुनै एक व्यक्तिको त्रासदी मात्र होइन, सम्पूर्ण समाजको गम्भीर असफलताको संकेत हो ।
कतिपय अवस्थामा अपराधीहरूले कानुनी सजाय पनि पाउँछन् । अदालतले दोषी ठहर गरेर जेल सजाय दिन्छ । तर केवल सजायले मात्र समाज सुरक्षित हुँदैन । अपराधीलाई दण्ड दिनु आवश्यक छ, तर त्यो समस्याको अन्तिम समाधान होइन । यदि अपराधको जरा समाजमै गहिरो रूपमा फैलिएको छ भने, त्यसलाई केवल कानुनी कारबाहीले मात्र उखेल्न सकिँदैन ।
बलात्कार केवल एउटा आपराधिक घटना मात्र होइन । यो चरम हिंसा हो, गम्भीर मानसिक विकृति हो, र मानवीय नैतिकताको पूर्ण पतन हो । यसले पीडितको शरीरमा मात्र चोट पु¥याउँदैन, उसले आफ्नो आत्मसम्मान, आत्मविश्वास र जीवनप्रतिको भरोसामाथि गहिरो घाउ बोकेर बाँच्न बाध्य हुन्छ । धेरै पीडितहरूका लागि यो पीडा एउटा क्षणिक घटना होइन, जीवनभरि बोकिने घाउ बनिदिन्छ ।
दुर्भाग्यवश, हाम्रो समाजमा यस्ता घटनापछि मात्र बहस सुरु हुन्छ । कुनै पीडादायी घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आक्रोश देखिन्छ, प्रदर्शन हुन्छ, न्यायको माग उठ्छ, र अपराधीलाई कडा सजाय दिनुपर्ने आवाज चर्किन्छ । यी सबै प्रतिक्रिया आवश्यक पनि हुन् । तर प्रश्न उठ्छ के यति मात्रै पर्याप्त छ रु
यदि समाजले केवल अपराधपछि सजायको कुरा मात्र गर्छ भने, त्यो समस्या समाधानको आधा बाटो मात्र हो । समाधानको अर्को, अझ महत्वपूर्ण भाग भनेको यस्तो अपराध हुनै नदिने वातावरण निर्माण गर्नु हो । समाजले अपराध रोक्ने संस्कार, चेतना र मूल्य निर्माण गर्न सकेन भने, आज एक पीडितको लागि न्याय खोजिए पनि भोलि अरु धेरै पीडितहरु जन्मिन
सक्छ ।
यसका लागि हाम्रो ध्यान अदालत र जेलको सीमाभन्दा धेरै बाहिर जानु पर्छ । समाधानको मूल आधार शिक्षा र संस्कारमा छ । अब समय आएको छ कि घर, विद्यालय र समाजले सानै उमेरदेखि छोराहरूलाई स्पष्ट रूपमा सिकाउनुपर्छ बलात्कार के हो, यो कति घोर अपराध हो, यसले पीडितको जीवनमा कस्तो गहिरो प्रभाव पार्छ, र यो केवल कानुनी अपराध मात्र होइन, मानवताको विरुद्धको क्रूर हिंसा हो ।
हाम्रो समाजमा बलात्कारको समस्या केवल केही अपराधी व्यक्तिहरूको समस्या मात्र होइन । यो गहिरो रूपमा जरा गाडेको पितृसत्तात्मक सोचसँग पनि जोडिएको छ । जबसम्म समाजमा नारीलाई दोहन गर्न मिल्ने, उपभोग गर्न मिल्ने वस्तु जस्तो ठान्ने मानसिकता रहिरहन्छ, तबसम्म बलात्कारजस्ता अपराधहरू पूर्ण रूपमा रोक्न गाह्रो हुन्छ ।
पितृसत्तात्मक सोचले महिलालाई पुरुषभन्दा कम मूल्यवान् ठान्ने संस्कार निर्माण गर्छ । यसले महिलाको शरीरमाथि पुरुषको अधिकार जस्तो व्यवहारलाई सामान्य बनाउँछ । महिलाको सम्मान र सहमतिलाई गौण ठान्ने प्रवृत्ति बढाउँछ । यही सोचका कारण कतिपय पुरुषहरूलाई लाग्छ कि महिलाको इच्छा र अधिकारभन्दा माथि आफ्नो इच्छा राख्न मिल्छ । यस्तो मानसिकता कायम रहिरहँदा यौन हिंसाका घटनाहरू दोहोरिने जोखिम निरन्तर बढिरहन्छ।
त्यसैले बलात्कारविरुद्धको लडाइँ केवल कानुनी सजायको विषय मात्र होइन । यो सामाजिक चेतना परिवर्तन गर्ने ठूलो अभियान पनि हो । छोराहरूलाई सानैदेखि सहमति सम्मान र समानताको शिक्षा दिनुपर्छ । घर, विद्यालय र समाजले महिलालाई बराबर मान्ने संस्कार विकास गर्नुपर्छ । हिंसालाई सामान्य ठान्नेसोचलाई चुनौती दिनुपर्छ ।
हाम्रो समाजमा अझै पनि छोरीहरूलाई मात्र सतर्क हुन सिकाइन्छ राति नहिँड, यस्तो लुगा नलगाऊ, त्यस्तो ठाउँमा नजाऊ । तर समस्या समाधान गर्ने बाटो त्यहाँ छैन । केवल छोरीहरूलाई नियन्त्रण गर्ने वा सतर्क बनाउने समाजले हिंसा रोक्न
सक्दैन । बरु सबै पुरुषहरूलाई सबै मानिसप्रति, विशेष गरी महिलाप्रति, जिम्मेवार, संवेदनशील र सम्मानजनक व्यवहार गर्न सिकाउने समाज मात्र वास्तवमा सुरक्षित समाज बन्न
सक्छ ।
यौन हिंसा विरुद्धको लडाइँ केवल अदालत, प्रहरी र कानुनी व्यवस्थामा सीमित हुन सक्दैन । यसमा परिवार, विद्यालय, समुदाय, सञ्चार माध्यम र सम्पूर्ण समाजको समान जिम्मेवारी हुन्छ । जबसम्म हामी सबैले मिलेर सम्मान, समानता र जिम्मेवारीको संस्कार निर्माण गर्न सक्दैनौँ, तबसम्म यस्तो अपराध पूर्ण रूपमा अन्त्य हुने छैन ।
यदि हामीले आजैबाट छोराहरूको चेतना, नैतिकता र संवेदनशीलता निर्माण गर्न सकेनौँ भने, भोलि फेरि अर्को इनिसाको लागि न्याय खोज्दै सडकमा उभिनुपर्नेछ । त्यसैले आजको सबैभन्दा ठूलो जिम्मेवारी केवल बलात्कारपछि न्याय खोज्नु मात्र होइन, बलात्कार हुनै नदिने संस्कार निर्माण गर्नु हो ।
न्यायको वास्तविक अर्थ त्यतिबेला मात्र पूरा हुन्छ, जब समाजले यस्तो वातावरण निर्माण गर्छ जहाँ कुनै पनि इनिसा कहिल्यै यौन हिंसाको सिकार बन्न नपरोस् ।







