१९ चैत, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सुरक्षा, संवैधानिक अंग र कर्मचारीतन्त्रप्रति आफ्नो पार्टीको कुनै पनि वैरभाव नभएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले नेपाली सेना लगायतका सुरक्षा, न्यायालय र कर्मचारीतन्त्रप्रति पार्टीको विश्वास रहिरहने उल्लेख गरेका छन् ।
‘नेपाली सेना लगायतका सुरक्षा अंगहरू, न्यायलय लगायतका संवैधानिक अंगहरू र कर्मचारीतन्त्रप्रति हाम्रो पार्टीको कुनै पनि वैरभाव छैन त्यसप्रति हाम्रो पार्टीको सम्मान र बिश्वास रहिरहने छ,’ भट्टराईले भनेका छन्, ‘संसद् वा सड़क, सत्ता पक्ष वा प्रतिपक्ष कुनै पनि भूमिकामा पार्टीको यो धारणा यथावत रहने छ ।’
आजै प्रतिनिधिसभा बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्ममा नेपाली सेनालाई जोडेर अभिव्यक्ति दिएका थिए ।
‘जनताको बहुदलीय जनवाद नेकपा एमालेको सिद्धान्त हो । प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने र शान्तिपूर्ण तथा वैधानिक बाटोबाट नेपाली समाजको प्रगतिशील रूपान्तरण गरी समाजवादको आधार तयार गर्ने जबजको मान्यता हो,’ योगेशले भनेका छन् ।
जनताले प्रकट गरेको जनमतलाई सम्मान गर्नु र पराजयको ठोस समीक्षा गरी कमजोरीलाई सच्याएर पुनः जनविश्वास आर्जन गर्ने बाटोमा जानु जबजको मर्म रहेको उनको भनाइ छ ।
‘यो व्यवस्था ल्याउनमा मुख्य भूमिका खेलेको र संविधान निर्माणमा नेतृत्वकर्ता दल नेकपा एमाले आज सरकारको विपक्षी दल हो । तर राज्य पक्षीय दल हो,’ योगेशले भनेका छन् ।








