गर्मि बढे संगै तरबुजाको व्यापारमा उल्लेखय बृद्धि

ढल्केबर, चैत २९ गते । पूर्वपश्चिम लोकमार्गअन्तर्गत पर्ने धनुषाको ढल्केबर क्षेत्रमा यतिखेर गर्मी मौसमसँगै तरबुजाको व्यापार उल्लेख्य रूपमाबृद्धि भएको छ ।
गर्मी याममा निकै लाभदायी मानिएकाले तरबुजाको व्यापार यहाँ निकै फस्टाएको हो । पूर्वपश्चिम तथा मधेश प्रदेशको राजधानी जनकपुरधामको प्रवेशद्वार ढल्केबरमा अहिले तरबुजा व्यापार बढेसँगै पसलको सङ्ख्या समेत बढेको छ ।
स्थानीय व्यापारीले दुई दर्जनभन्दा बढी स्थानमा अस्थायी टहरा निर्माण गरी तरबुजा बिक्री केन्द्र सञ्चालन गरेका छन् । ती पसलमा दैनिक रूपमा लोकमार्ग हुँदै आवतजावत गर्ने बस तथा निजी सवारीका यात्रुका साथै स्थानीय उपभोक्ताको उल्लेख्य भिड लाग्ने गरेको छ ।

त्यका व्यापारीका अनुसार ढल्केबरमा अहिले दैनिक १० लाख रुपियाँभन्दा बढीको तरबुजा कारोबार भइरहेको छ । गर्मीमा चिसोपन दिने फलका रूपमा लोकप्रिय तरबुजाको माग उच्च भएकाले व्यापारमा उत्साह थपिएको उहाँको भनाइ छ ।
यहाँबाट बिक्री हुने अधिकांश तरबुजा भने भारतका विभिन्न सहरबाट आयात गर्ने गरिएको व्यापारी घुरन दासले बताउनुभयो ।उडिसा, कलकत्ता र सिलिगुडीलगायतका स्थानबाट तरबुजा ढुवानी गरी ल्याउने गरिएको उहाँले जानकारी दिनुभयो ।
स्थानीय उत्पादन वैशाख महिनाको दोस्रो वा तेस्रो सातापछि मात्र बजारमा आउने भएकाले ग्राहकको माग पूर्ति गर्न भारतबाट आयात गर्नुपरेको उहाँको भनाइ छ ।
ढल्केबरमा तरबुजा प्रतिकिलो ५० देखि ६० रुपियाँसम्ममा बिक्री भइरहेको छ भने काटेर तयार पारिएको तरबुजा चाना २० देखि २५ रुपियाँमा बिक्री हुने गरेको छ ।स्थानीय तरबुजा व्यापारी बैधनाथ चौधरीका अनुसार भारतबाट तरबुजा ल्याउँदा खरिद मूल्यबाहेक ढुवानीमै चारदेखि पाँच लाख रुपियाँसम्म खर्च हुने गरेको छ ।
जसका कारण स्थानीय उत्पादनको तुलनामा आयातित तरबुजा केही महङ्गो हुन गएको छ ।धनुषाको कमला नदी आसपासका गाउँमा पनि तरबुजा उत्पादन हुने गरे पनि समयमै उत्पादन नआउँदा बजार माग धान्न कठिन हुने गरेको व्यापारी चौधरीले बताउनुभयो ।

LEAVE A REPLY