जेठ महिनाका लागि बैंकहरूको ब्याजदर , औसतमा ४.३४ प्रतिशत कायम

काठमाडौँ । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर तालिका अनुसार मुद्दती निक्षेपको औसत ब्याजदरमा थप गिरावट देखिएको छ। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम तरलता थुप्रिँदै गएपछि बैंकहरूले निक्षेपको लागत घटाउन ब्याजदर कटौतीको रणनीति अपनाएका हुन्। तथ्यांकअनुसार जेठ महिनाका लागि ८ वटा वाणिज्य बैंकले ब्याजदर घटाउने निर्णय गरेका छन् भने बाँकी १२ वटा बैंकले वैशाख महिनाकै दरलाई स्थिर राख्ने निर्णय गरेका छन्। यसले गर्दा वैशाखमा ४.४२ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर जेठमा ०.०७ प्रतिशतले घटेर ४.३४ प्रतिशतमा झरेको छ।
ब्याजदर घटाउने बैंकहरूको सूचीमा सरकारी स्वामित्वको नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकदेखि निजी क्षेत्रका ठूला बैंकहरू कुमारी, सिटिजन्स, एनएमबि, स्ट्याण्डर्ड चार्टर्ड, हिमालयन र एनआईसी एसिया बैंक रहेका छन्। व्यक्तिगत निक्षेपतर्फ नेपाल बैंक, एनएमबि, हिमालयन, राष्ट्रिय वाणिज्य र एनआईसी एसियाले समान ०.२५ प्रतिशतले ब्याजदर घटाएका छन् भने स्ट्याण्डर्ड चार्टर्ड र कुमारी बैंकले क्रमशः ०.१० र ०.०९ प्रतिशतको गिरावट ल्याएका छन्। त्यस्तै, संस्थागत निक्षेपतर्फको औसत ब्याजदर पनि ३.२३ प्रतिशतबाट घटेर ३.२० प्रतिशत कायम भएको छ, जसमा कुमारी, सिटिजन्स, स्ट्याण्डर्ड चार्टर्ड र एनआईसी एसिया बैंकले उल्लेख्य कटौती गरेका छन्।
अर्कोतर्फ, कृषि विकास, एभरेष्ट, नेपाल एसबिआई, लक्ष्मी सनराइज, ग्लोबल आइएमई, प्राइम, प्रभु, माछापुच्छ्रे, सिद्धार्थ, नबिल, सानिमा र एनआईएमबि बैंकले भने जेठ महिनाका लागि आफ्नो ब्याजदरमा कुनै परिवर्तन नगरी वैशाखकै दरलाई निरन्तरता दिएका छन्। निक्षेपको ब्याजदरमा आउने यस गिरावटले बैंकहरूको आधार दरलाई तल ल्याउन मद्दत पुग्ने देखिन्छ। यसको प्रत्यक्ष सकारात्मक प्रभाव कर्जाको ब्याजदरमा पर्ने भएकाले आगामी दिनमा उद्योगी, व्यवसायी र अन्य ऋणीहरूका लागि बैंकबाट ऋण लिन सस्तो र सहज हुने अपेक्षा गरिएको छ।

LEAVE A REPLY