काठमाडौँ । त्रिभुवन विश्वविद्यालय त्रिवि को निमित्त उपकुलपतिमा इन्जिनियरिङ अध्ययन संस्थान आईओई का डीन प्रा. डा. सुशील बहादुर बज्राचार्य नियुक्त भएका छन्। अघिल्लो सरकारद्वारा नियुक्त गरिएका पदाधिकारीहरूलाई हटाउन बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले नयाँ अध्यादेश ल्याउने तयारी गरेसँगै विश्वविद्यालयको नेतृत्व तहमा ठुलो फेरबदल आएको हो। सो अध्यादेश जारी हुनुअघि नै विश्वविद्यालयका प्रमुख पदाधिकारीहरूले मार्गप्रशस्त गर्दै आफ्नो पदबाट राजीनामा दिएका थिए।
यसअघिका उपकुलपति प्रा. डा. दीपक अर्याल, रेक्टर खड्ग केसी र रजिस्ट्रार प्रा. डा. केदारप्रसाद रिजालले सामूहिक रूपमा राजीनामा दिएपछि मुलुककै जेठो विश्वविद्यालय केही समयका लागि पदाधिकारीविहीन बनेको थियो। विश्वविद्यालयको प्रशासनिक र प्राज्ञिक कार्यहरू ठप्प हुन नदिन प्रधानमन्त्री एवम् कुलपति बालेन शाहले वरिष्ठता र प्रशासनिक अनुभवका आधारमा डा। बज्राचार्यलाई निमित्त उपकुलपतिको जिम्मेवारी सुम्पिएका हुन्।
हाल सरकारले त्रिविमा नयाँ नेतृत्व चयनको प्रक्रियालाई पनि तीव्रता दिएको छ। उपकुलपति छनोटका लागि विशेष सिफारिस समिति गठन भइसकेको छ भने योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान समेत गरिएको छ। इच्छुक व्यक्तिहरूका लागि आवेदन दिन १० दिनको समयसीमा निर्धारण गरिएको छ। नयाँ उपकुलपति नियुक्त नहुँदासम्म डा। बज्राचार्यले विश्वविद्यालयको दैनिक कार्यसम्पादन र आकस्मिक निर्णयहरूको नेतृत्व गर्नेछन्।








