काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेमा नेतृत्व परिवर्तन गर्न विशेष महाधिवेशनको माग उठेको छ । २०८३ को प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले सर्मनाक पराजय भोग्नु परेको र त्यसको कारण वर्तमान अध्यक्ष केपी शर्मा ओली नै भएको ठहर गर्दै विशेष महाधिवेशनको माग गर्दै देशव्यापी रुपमा असन्तुष्ट नेताहरुले हस्ताक्षर अभियान थालेको एक नेताले सुदामालाई बताए । पार्टीको नेतृत्वशैली, निर्णय प्रक्रिया, संगठन सञ्चालन र राजनीतिक कार्यदिशालाई लिएर हस्ताक्षर अभियान सञ्चालन भएपछि एमालेमा हलचल मच्चिन थालेको बुझिएको छ । तर पछिल्लो संसदीय निर्वाचनमा पराजयको कारण पार्टी नेतृत्व मात्रै नभएको निर्वाचन आयोगका अध्यक्ष विज सुब्बाको धारणा छ । अध्यक्ष सुब्बाले पार्टीका तल्ला तहदेखिको संरचना ध्वस्त हुनुमा पार्टी अध्यक्ष केपी शर्मा ओली मात्र दोषी नभएको र केन्द्र, प्रदेश, जिल्ला र जनसंगठनका अघि बढाउने नेता पनि दोषी भएको बताएका छन् ।
विशेष महाधिवेशनलाई लिएर संस्थापन पक्षले पार्टी विधान, अनुशासन र संगठनात्मक मर्यादा विपरीत कार्य नगर्न तल्लो कमिटीलाई अनुरोध गरे पनि सो कमिटीले चुनौती दिँदै विशेष महाधिवेशन पक्षधर युवाले सातै प्रदेशमा सम्पर्क व्यक्ति तोकेको उपेन्द्र शाहीले बताएका छन् । अहिलेको कार्यकर्ताको भावना, केन्द्रीय कमिटीलाई बुझाउन र विशेष महाधिवेशनको पक्षमा आवाज बुलन्द पार्न सम्पर्क व्यक्तिलाई जिम्मेवारी दिएको उपेन्द्र शाहीले बताउनुभयो ।
त्यसैगरी बुद्धिजीवि परिषदका अध्यक्ष राजेन्द्र थपलिया, अनेरास्ववियुका उपमहासचिव कमल जोशी, युवासंघका उपमहासचिव उपेन्द्र शाहीले अभियान देशव्यापी बनाउने भन्दै गतिविधि सक्रिय रुपमा चलाईरहेका छन् । अभियान सञ्चालक जोशीले पार्टीको वैचारिक बहस कमजोर भएको, नेतृत्वको आलोचना नसुन्ने प्रवृत्ति बढेको तथा तल्लो तहका कार्यकर्ताको भावना नेतृत्वसम्म नपुगेको दाबी गर्नुभयो ।
यता संस्थापन पक्ष भने अहिलेको परिस्थितिमा विशेष महाधिवेशनको मागलाई अनावश्यक र गुटगत गतिविधि मानिरहेको छ । नेतृत्व निकट नेताका अनुसार पार्टीभित्र छलफल गर्ने, अधिकारीक फोरम हुँदा हुँदै सार्वजनिक रुपमा हस्ताक्षर अभियान चलाउनु संगठनात्मक अनुशासन विपरीत हो । अहिलेको अभियानले कार्यकर्ता बीच ध्रुवीकरण बढाउने खतरा हुने संस्थापन पक्षले बताएको छ । संस्थापन पक्षले अनुशासनको विषयलाई कडाईका साथ लागु गर्ने भएको छ ।









