बजेट ग्रामीणमुखी आओस्

गाउँघर र दुर्गमका बस्तीहरुमा बसाईसराइको क्रम दिनानु दिन बढ्दै गइरहेको छ । बसाई सर्नुपर्ने खास कारण पूर्वाधार न्यून रुपमा पनि नहुनु र जंगली जनावर बाँदर आतंक, बाघभालु आतंक, हात्ती आतंक लगायत रहेका छन् । सबैभन्दा ठलो आतंकका रुपमा बाँदरको विनाश रहेको छ । किसानहरुले दुःख गरेर लगाएको बालीनालीमा बाँदरले सत्यानास पार्दा मान्छेहरु बसाई सर्न बाध्य भएका छन् । वर्षभरी खाने अन्नपात नै बाँदरले सखाप पारिदिए पछि किसानहरु आफ्नो थातथलो र उर्वरशील भूमि छोडेर बसाई सरीरहेका छन् । यो क्रियाकलापले गाउँबस्ती खाली हुँदै जाने र शहर खचाखच हुने क्रम बढीरहेको छ । बसाई सर्नुपर्ने बाध्यता जंगली जनावरले दिएको पीडा मात्र छैन, न्यूनतम पूर्वाधार आवश्यकता पनि नहुनु हो । हावा पानी राम्रो छ, तर विद्यालय, स्वास्थ्य संस्था, खोलामा पूल, गुणस्तरीय शिक्षा लगायतका वस्तुहरु अभाव रहेका छन् । यस्ता विविध समस्याको समाधान गर्न सरकारले यो वर्ष बजेट शहरी विकासमा भन्दा ग्रामीण क्षेत्रमा छुट्याउनु बढी बुद्धिमानी देखिन्छ । कम्तीमा पनि न्यूनतम पूर्वाधारसम्म भए ग्रामीण बस्ती खाली हुनबाट कम हुने थियो ।
सरकारले आर्थिक वर्ष २०८३÷०८४ को बजेट निर्माण गर्दा शहरलाईभन्दा गाउँलाई पहिलो प्राथमिकता दिनुपर्ने आवश्यकता छ । जतिजति ग्रामीण भेगलाई उपेक्षा गर्दै शहरको मात्रै विकास हुन्छ त्यतित्यति शहर खचाखच भएर गाउँ शुन्य हुँदै जान्छ । शहरमा जन घनत्व बढ्दा विभिन्न कुराको समस्या बढ्छ भने गाउँबस्ती उजाड बन्दै जाने गर्दछ । यो बाध्यताले कसरी हुन्छ देशको विकास रु शहरको विकासले मात्र समग्र देशको विकास हुँदैन । यो कुरामा सरकारले गम्भीरताका साथ सोच्नु पर्दछ । विगतका सरकारले पनि ग्रामीण क्षेत्रमा विकास गर्ने योजना ल्याएन जसले गर्दा ग्रामीण क्षेत्रका बासिन्दा सुविधा खोज्न शहर पस्नुपर्ने बाध्यताले ग्रामीण बस्ती उजाड र शहर अस्त व्यस्त भएको छ । यसको निराकरण भए शहर व्यवस्थित र गाउँ हराभरा हुने क्रम बढ्दै जाने कुरामा दुईमत छैन ।
ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा, स्वास्थ्य र अन्य पूर्वाधार हुने हो भने पिता पुर्खादेखि बसोबास गर्दै आइरहेको थातथलो छोड्न कसैलाई रहर हुँदैन । तर अहिले शहर पस्न बाध्य हुनु परेको छ । गम्भीर प्रकृतिका रोग लागेमा र गुणस्तरीय शिक्षा हासिल गर्नुपर्ने आवश्यकताले शहरको बास बाध्यता भएको छ । त्यसैले यो वर्षको बजेटले नेपालका दुर्गम बस्तीमा विकास गरोस् । शहरको मात्र विकास भनेको शहरबासी र विदेशी पर्यटकका लागि मात्र हो । गाउँको विकास भनेको आम नेपालीको आर्थिक अवस्थाको विकास हो ।

LEAVE A REPLY