पोखरा । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट पहिलोपटक भारतका लागि चार्टर उडान भएको छ ।
मंगलबार भारतको भोपालका लागि मेडिकल रेस्क्यू चार्टर उडान भएको हो । राजा भोज विमानस्थलका लागि चार्टर उडान गरिएको पोखरा अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।
मुक्तिनाथ तीर्थयात्राका क्रममा बिरामी परेका भारतीय नागरिक शम्भु दयाल श्रीवास्तवलाई थप उपचारका लागि विशेष चार्टर उडानमार्फत भोपाल पठाइएको विमानस्थलका सूचना अधिकारी आशिष प्रकृति धितालले जानकारी दिए । उनी मुक्तिनाथ क्षेत्रबाट फर्किदा बिरामी भएपछि उद्धार गरी पोखराको चरक मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो
अस्पतालमा ५ दिन उपचारपछि थप उपचारका लागि परिवारले जहाज चार्टर गरेको हो । चार्टर उडानमा बिरामीका दुई छोरा, चरक अस्पतालका ३ चिकित्सक र ६ जना क्रु सदस्य छन् । पोखराबाट भारतका लागि यो पहिलो डिपार्चर चार्टर उडान हो । यसअघि भारतको दिल्ली हुँदै एउटा विदेशी चार्टर उडान पोखरा आएको थियो ।
यसअघि पोखराबाट चीनको ल्हासा, छेन्दू, भुटानको पारो र सिंगापुरबाट चार्टर तथा विशेष उडान भइसकेका छन् । हिमालय एयरलाइन्सले नियमित उडान ल्हासा गरेपनि अहिले रोकिएको छ । सिचुवान एयरलाइन्सले केही समय नियमित रुपमै चार्टर उडान भरेको थियो ।









