काँग्रेस नेतृत्वको अविश्वास र दिशााहीनताको दलदलमा भासिदै जान थाल्यो

—आरपी गैरे
नेपाली कांग्रेसको इतिहास एउटा राजनीतिक दलको इतिहास मात्र नभएर नेपालको प्रजातान्त्रिक आन्दोलन, जनअधिकारको संघर्ष र उतारचढावसँग जोडिएको जीवन्त राजनीतिक दस्तावेज हो । कांग्रेसले निरंकुश राणाशासनविरुद्ध लड्यो, पञ्चायतको अन्धकार चिर्ने आन्दोलनको नेतृत्व गर्यो र २०४६ सालको जनआन्दोलनदेखि २०६२÷०६३ को ऐतिहासिक परिवर्तनसम्म जनताको भरोसाको केन्द्र बन्यो । आज आएर त्यही कांग्रेस आफ्नै आन्तरिक विवाद, स्वार्थ समूह, नेतृत्वको अविश्वास र वैचारिक दिशाहीनताको दलदलमा भासिँदै गएको देखिन्छ ।

नेपाली कांग्रेसको पतनोन्मुख अवस्था नेपालको कुनै एउटा राजनीतिक दलको मात्रै संकट नभएर, लोकतान्त्रिक संरचनामाथि उठेको गम्भीर प्रश्न हो । नेपाली कांग्रेस विगतदेखि नै विवाद, असन्तुष्टि र गुटगत संघर्षको चपेटामा रहँदै आएको दल हो । पार्टी स्थापना कालदेखि नै विचार, नेतृत्व र कार्यशैलीका विषयमा मतभेदहरू देखिएका थिए । बिपी कोइरालाको समयदेखि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला हुँदै अहिलेको पुस्तासम्म कांग्रेसभित्र गुटको राजनीति कहिल्यै अन्त्य भएन ।

तर विगतमा लोकतन्त्रको रक्षा र संगठनको एकताका लागि ती विवादहरूलाई एउटा साझा लक्ष्यले बाँधेर राख्थ्यो । नेताहरूबीच कटुता भए पनि पार्टीलाई जोगाउने विन्दुमा पुगेर उनीहरू समन्वय गर्थे । यसै कारण कांग्रेस पटक–पटकको संकटबाट बच्दै आयो । तर अहिलेको परिस्थिति फरक देखिन्छ । अहिले कांग्रेस गुटीय प्रतिस्पर्धामा सीमित छैन, उसले आफ्नो वैचारिक आत्मा नै गुमाउन थालेको आभास हुन्छ ।

नेतृत्वबीचको अविश्वास, कार्यकर्तामा बढ्दो निराशा र जनतासँग कमजोर बन्दै गएको सम्बन्धले कांग्रेसलाई इतिहासकै कठिन मोडमा पुर्याएको छ । पार्टीभित्र देखिएको विवाद सामान्य आन्तरिक असन्तुष्टि होइन, यो पार्टीको अस्तित्व र भविष्यसँग गाँसिएको गम्भीर संकट हो । नेपालको राजनीतिक इतिहास हेर्दा विवाद र विभाजन कुनै नयाँ कुरा होइनन् । विशेष गरी कम्युनिस्ट पार्टीहरू फुट र पुनर्गठनको चक्रबाटै विकसित भए । मधेस केन्द्रित दलहरू पनि नेतृत्व विवाद र स्वार्थका कारण पटक–पटक टुक्रिए । कांग्रेस भने बारम्बार संकट भोगेर पनि बाँचिरह्यो ।

तर गत भदौ २३ र २४ को घटनाका बाछिटाका कारण कांग्रेस भित्रभित्रै यति धेरै चिरिएको छ कि बाहिरबाट एक देखिए पनि मनोवैज्ञानिक रूपमा अनेक धारमा विभाजित भइसकेको अनुभूति हुन्छ । गत भदौयता कांग्रेसभित्रको विवाद थप तीव्र बन्न पुगेको छ कि कानुनी रूपमा एउटै भए पनि व्यवहारत २ वटा छ । यही द्वन्द्वले पार्टीभित्र असहज वातावरण बनाएको छ पुराना नेताहरू बिदा हुँदै छन्, तर युवा नेताहरू जनतामा भिज्न सकेका छैनन् ।

आफूलाई युवा नेता दावी गर्नेहरूको सबैभन्दा ठुलो समस्या वैचारिक अस्पष्टता हो । एक समय समाजवाद, लोकतन्त्र र राष्ट्रियताको स्पष्ट धार बोकेको कांग्रेस अहिले सत्ता प्राप्तिका लागि गठितजस्तै देखिन्छ । कहिले कम्युनिस्टसँग गठबन्धन, कहिले तिनै विरूद्धको मोर्चाबन्दी, कहिले राजावादी शक्तिसँग नजिकिएको आरोप । यी सबैले कांग्रेसको वैचारिक चरित्रमाथि प्रश्न उठाएका छन् । जनताले कांग्रेसलाई वैकल्पिक शक्ति होइन, सत्ताकेन्द्रित दलका रूपमा हेर्न थालेका छन् । यही धारणा कांग्रेसका लागि ठुलो खतरा हो ।

कार्यकर्ताको मनोबल कमजोर बन्दै गएको छ । गाउँ–गाउँमा पुराना कार्यकर्ताहरू निराश छन् । उनीहरूलाई लाग्न थालेको छ कि पार्टी केही सीमित नेताहरूको नियन्त्रणमा कैद भएको छ । योगदानभन्दा पहुँचको राजनीति हावी भएको छ । टिकट वितरणदेखि नियुक्तिसम्म गुटको प्रभाव देखिन्छ । जसले गर्दा इमानदार कार्यकर्ताहरू क्रमशः निष्क्रिय बन्दै गएका छन् । कांग्रेसको संगठन बाहिरबाट ठुलो देखिए पनि भित्रको ऊर्जा कमजोर हुँदै गएको अनुभूति हुन्छ ।

देशको राजनीतिक परिस्थिति अस्थिर बन्दै गएको छ । जनतामा राजनीतिप्रतिको वितृष्णा बढ्दो छ । युवाहरू देश छाडिरहेका छन् । भ्रष्टाचार, बेरोजगारी, महँगी र राज्य संयन्त्रप्रतिको अविश्वास बढिरहेको छ । यस्तो बेला कांग्रेसजस्तो ऐतिहासिक दलले देशलाई स्पष्ट दिशा दिनुपर्ने हो । कांग्रेस आफैँ आन्तरिक संघर्षमा अल्झिँदा जनताले विकल्प खोज्न थालेका छन् । यही खालीपनमा स्वतन्त्र राजनीति, नयाँ दल र राजावादी भावना पुनः सक्रिय हुन थालेका छन् । यदि कांग्रेसले समयमै आफूलाई सुधार्न सकेन भने यसको असर पार्टीमा मात्र सीमित रहने छैन । नेपालको लोकतान्त्रिक प्रणाली नै कमजोर बन्न सक्छ । कांग्रेस एउटा दल मात्र होइन, लोकतान्त्रिक संरचनाको मुख्य आधार हो । कांग्रेस कमजोर हुँदा लोकतन्त्रको सन्तुलन कमजोर हुन्छ ।

कांग्रेसभित्र देखिएको संकट समाधान गर्न नेतृत्वले गम्भीर आत्मसमीक्षा गर्नै पर्छ । जनतासँग पुनः सम्बन्ध जोड्नुपर्छ । भ्रष्टाचार र भागबन्डाको राजनीतिबाट माथि उठ्नुपर्छ । अन्यथा कांग्रेसको ८० वर्षे इतिहास स्मृतिमा सीमित हुने खतरा बढ्दै जानेछ । इतिहासले कांग्रेसलाई धेरै अवसर दिएको छ, इतिहास सधैँ एउटै गल्ती क्षमा गर्दैन । लोकतन्त्रको विरासत बोकेको यस दलले आफैँसँग प्रश्न गर्नुपर्ने बेला आएको छ, के कांग्रेस अझै पनि जनताको आशाको केन्द्र बन्न सक्छ, कि आफ्नै विवादको कैदी भएर सीमित हुँदै जानेछ रु
विशेष महाधिवेशनपछिको अन्योलः
विशेष महाधिवेशनमार्फत गगनकुमार थापालाई सभापति र विश्वप्रकाश शर्मालाई उपसभापतिमा चयन गरिनु नेतृत्व परिवर्तन मात्र थिएन, त्यो कांग्रेसभित्र नयाँ पुस्ताले पुरानो राजनीतिक संस्कृतिविरुद्ध गरेको विद्रोहको उदघोष थियो । विशेष महाधिवेशनले थोरै नयाँ अनुहार र धेरैजसो पुरानै नेताहरूलाई समेट्दै नयाँ कार्यसमिति गठन गर्यो । युवा ऊर्जा, वैचारिक पुनर्संरचना र संगठनात्मक सुधारको आशा गरिएको त्यो नेतृत्वलाई परिवर्तनको प्रतीकका रूपमा प्रस्तुत गरियो
यता संस्थापन पक्षले यसलाई सहज रूपमा स्वीकार गरेन । तत्कालीन सभापति शेरबहादुर देउवा निकट नेताहरूले विशेष महाधिवेशनलाई पार्टी विधानविपरीत भन्दै त्यसमा सहभागी नेताहरूलाई कारबाहीको घोषणा गरे । निष्कासन, स्पष्टीकरण र संगठनात्मक प्रतिबन्धका कदमहरू चालिए । उता विशेष महाधिवेशन पक्षले पनि संस्थापन नेतृत्वमाथि उस्तै कठोर व्यवहार गर्यो । दुवै पक्ष एकअर्कालाई वैधानिकता नदिने स्थितिमा पुगे ।
कांग्रेसभित्रको आन्तरिक संघर्ष त्यसपछि वैचारिक बहसमा सीमित रहेन, त्यो समानान्तर शक्ति संघर्षमा परिणत भयो । एउटै झण्डामुनि २ फरक कांग्रेस उभिएको अनुभूति हुन थाल्यो । यस्ता गतिविधिले कांग्रेसलाई टाढा बनायो । गुटगत दुरी मनोवैज्ञानिक विभाजनमा बदलियो । वर्षौंसम्म एउटै आन्दोलनमा सहकार्य गरेका नेताहरू सार्वजनिक रूपमा एकअर्काविरुद्ध उत्रिन थाले । जिल्ला तहदेखि केन्द्रसम्म संगठन विभाजित हुन पुग्यो । कार्यकर्ताहरू अन्योलमा परे । को आधिकारिक कांग्रेस हो भन्ने प्रश्न गाउँ–गाउँसम्म पुग्यो ।
कांग्रेसको आन्तरिक लोकतन्त्रको बहस वैमनस्य र प्रतिशोधको राजनीतिमा रूपान्तरण हुन थाल्यो । यसले पार्टीको भावनात्मक एकतालाई गम्भीर चोट पुर्यायो । लामो कानुनी र राजनीतिक बहसपछि निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षधर समूहलाई नै आधिकारिक कांग्रेसको मान्यता दियो । यो निर्णयले गगन थापा नेतृत्वको पक्षलाई कानुनी वैधता दियो भने असहमत पक्ष थप रक्षात्मक अवस्थामा पुग्यो । तर कानुनी मान्यता प्राप्त गर्नु मात्र राजनीतिक सफलता बन्न सकेन । त्यसपछि सम्पन्न निर्वाचनमा कांग्रेसले अपेक्षित परिणाम ल्याउन सकेन । धेरै क्षेत्रमा पार्टी पराजित भयो ।
कतिपय स्थानमा आन्तरिक असहयोगले आधिकारिक उम्मेदवार नै कमजोर बने । कतै असन्तुष्ट समूहले अन्तर्घात गर्यो, कतै स्वतन्त्र उम्मेदवारीमार्फत पार्टीको मत विभाजित भयो । कांग्रेसको हार विपक्षी दलको शक्ति होइन, आफ्नै आन्तरिक विभाजनको परिणाम थियो । चुनावको ठिक मुखमा नेतृत्व परिवर्तन गर्ने भावुक निर्णयले संगठनलाई चुनावी रूपमा तयार हुन नदिएको आरोप व्यापक रूपमा उठ्यो ।
असहमत पक्षले यही पराजयलाई विशेष महाधिवेशनको असफलताको प्रमाणका रूपमा प्रस्तुत गर्यो । उनीहरूको तर्क थियो, भावनामा बगेर गरिएको नेतृत्व परिवर्तनले कांग्रेसको स्थायित्व र चुनावी संरचनालाई ध्वस्त बनायो । अनुभव र संगठनात्मक सन्तुलनलाई बेवास्ता गर्दा पार्टीले मूल्य चुकाउनुपर्यो । उता विशेष महाधिवेशन पक्षले पुराना नेतृत्वको असहयोग, अन्तर्घात र परिवर्तनविरोधी मानसिकताका कारण परिणाम कमजोर भएको दाबी गर्यो ।
चुनावी हारले आत्मसमीक्षाको अवसर दिनुपर्नेमा दोषारोपणको नयाँ अध्याय सुरु गरिदियो । यसपछि विवाद अदालतसम्म पुग्यो । असहमत पक्षले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै रिट दायर गर्यो । अदालतले उक्त रिट खारेज गरिदियो र गगन थापाले नेतृत्व गरेको पक्षलाई नै आधिकारिक कांग्रेसका रूपमा स्वीकार गर्यो । यो फैसला राजनीतिक रूपमा निकै महत्वपूर्ण थियो । यसले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई संस्थागत आधार दियो ।
अदालतको निर्णयले कानुनी विवाद अन्त्य गरे पनि राजनीतिक र भावनात्मक विवाद समाप्त भएन । असहमत पक्ष पूर्ण रूपमा समेटिएको छैन । उनीहरू अहिले १५औँ महाधिवेशनको तयारीमा जुटिरहेका छन् । यो तयारी आगामी नेतृत्व चयनको तयारी मात्र होइन, पार्टीभित्र शक्ति पुनर्सन्तुलनको दीर्घकालीन रणनीति पनि हो । असन्तुष्ट नेताहरूले आफूहरूलाई किनारामा पारिएको महसुस गरिरहेका छन् । उनीहरू पार्टीभित्र वैकल्पिक ध्रुव निर्माण गर्दै पुनः शक्ति आर्जन गर्ने प्रयासमा छन् । यसले कांग्रेसभित्रको तनाव सतहमुनि अझै जीवित रहेको संकेत गर्छ ।
आज कांग्रेस एउटा गम्भीर मनोवैज्ञानिक द्वन्द्वमा छ । कानुनी रूपमा पार्टी एक देखिए पनि भावनात्मक रूपमा विभाजित छ । नेतृत्व परिवर्तनले अपेक्षा जगाएको थियो, त्यसलाई परिणाममा बदल्न सक्ने संगठनात्मक स्थिरता निर्माण हुन सकेको छैन । पुरानो पुस्ता आफूलाई अपमानित महसुस गरिरहेको छ भने नयाँ पुस्ता आफूहरूमाथि निरन्तर अवरोध सिर्जना गरिएको गुनासो गरिरहेको छ । यही अविश्वास कांग्रेसको सबैभन्दा ठुलो चुनौती बनेको छ ।
यदि कांग्रेसले यस अवस्थाबाट पाठ सिकेर संवाद, सहकार्य र आत्मसमीक्षाको बाटो समात्न सकेन भने यो विवाद गहिरिँदै जानेछ । विभाजनको धाँजा संगठनमा मात्र होइन, जनतामा पनि पर्न थालेको छ । लोकतन्त्रको प्रमुख शक्ति मानिएको दल स्वयं अस्थिर हुँदा त्यसको असर राष्ट्रिय राजनीतिमा पनि अनिवार्य रूपमा पर्छ । कांग्रेसले प्रतिशोध होइन, पुनर्मिलनको राजनीति सिक्नुपर्ने बेला आएको छ । अन्यथा इतिहासले कांग्रेसलाई एउटा पुरानो विरासतका रूपमा सम्झने दिन टाढा नहुन सक्छ ।
नेपाली कांग्रेस सांगठनिक संकटमा मात्र छैन, नेतृत्व क्षमतामाथिसमेत गम्भीर प्रश्न उठिरहेको अवस्थामा पुगेको छ । विशेष महाधिवेशनपछि पार्टीको नेतृत्व सम्हाल्न पुगेका गगन थापामाथि सबैभन्दा ठुलो प्रश्न यही उठिरहेको छ, उनी किन पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन असफल हुँदै गएका छन् रु परिवर्तनको नारासहित नेतृत्वमा पुगेका थापाले कांग्रेसलाई नयाँ दिशा दिन सक्ने आशा धेरैले गरेका थिए ।
युवापुस्ताले उनलाई पुरानो गुटीय राजनीतिभन्दा माथि उठेर पार्टीलाई पुनर्जीवित गर्ने नेताका रूपमा हेरेका थिए । समय बित्दै जाँदा गगनमाथि पुराना शैलीको राजनीति दोहोर्याएको आरोप लाग्न थालेको छ । नेपाली कांग्रेस लोकतान्त्रिक शक्तिको मेरुदण्डका रूपमा हेरिन्छ । कांग्रेसभित्रको विभाजनलाई सामान्य आन्तरिक विवादका रूपमा मात्र लिन सकिँदैन । कांग्रेस कमजोर हुँदा लोकतान्त्रिक शक्ति कमजोर हुन्छ भन्ने धारणा नेपाली राजनीतिक मानसमा गहिरो रूपमा स्थापित छ । यही कारण कांग्रेसभित्र देखिएको गुटगत टकरावले धेरैलाई चिन्तित बनाएको छ । यदि कांग्रेस लामो समयसम्म विभाजित मनस्थितिमै रहिरह्यो भने त्यसले लोकतन्त्रप्रतिको जनविश्वासलाई समेत कमजोर बनाउन सक्छ ।
यही संकटको बीचमा सभापति थापाले पार्टीलाई मिलाएर लैजान विभिन्न प्रयास गरिरहेको देखिन्छ । देउवा, डा।शेखर कोइराला र शशांक कोइराला पक्षका गरी १९ जना केन्द्रीय सदस्यहरू आफूतिर तानेर उनले इतर पक्षलाई कमजोर बनाउन खोजेको सन्देश दिए । बाहिरबाट हेर्दा यो समावेशी रणनीति जस्तो देखिन्थ्यो । थापा पक्षको निष्कर्ष सायद यस्तो थियो, असन्तुष्ट पक्षका केही प्रभावशाली नेताहरूलाई जिम्मेवारी र सम्मान दिएर पार्टीभित्रको तनाव कम गर्न सकिन्छ । राजनीतिमा पद बाँड्दैमा विश्वास निर्माण हुँदैन भन्ने कुरा यस घटनाले प्रमाणित गरिदियो । असहमत पक्षले यसलाई चतुर राजनीतिक खेलका रूपमा व्याख्या गर्यो ।
उनीहरूको बुझाइमा यो वास्तविक मेलमिलाप होइन, असन्तुष्ट समूहलाई कमजोर बनाउने रणनीति थियो । मनोनयनलाई सहज रूपमा स्वीकार गरिएन । परिणामतः अपेक्षित एकताको सन्देश जानुको सट्टा विवाद झन् चर्कियो । गुट–उपगुटहरू यथावत् रहे । मतमतान्तरका धाँजाहरू फराकिला बन्दै गए । कांग्रेसभित्र एउटै पार्टीभित्र अनेक मानसिक शिविर बनेका छन्, जसले एकअर्कालाई विश्वास गर्न सकिरहेका छैनन् ।
असहमत पक्षका प्रभावशाली नेता पूर्णबहादुर खड्काले आफूहरूसँग कुनै सल्लाह नगरी सभापतिले केन्द्रीय समिति विस्तार गरेको प्रतिक्रिया दिए । यो प्रतिक्रिया प्रक्रियामाथिको असन्तुष्टि मात्र थिएन, त्यो नेतृत्वप्रतिको अविश्वासको संकेत पनि थियो । डा। शेखर कोइरालाले पनि यस्तै असन्तुष्टि सार्वजनिक गरे । उनको धारणा थियो, पार्टी सञ्चालन सामूहिक हुनुपर्छ, एकल निर्णयबाट होइन ।
कांग्रेसको इतिहासमै सामूहिक नेतृत्वको संस्कृति बलियो मानिन्थ्यो, निर्णय प्रक्रियामा त्यो भावना कमजोर हुँदै गएको आरोप छ । उता पार्टी महामन्त्री गुरुराज घिमिरेले भने तुलनात्मक रूपमा सन्तुलित अभिव्यक्ति दिएका छन् । उनले कसैलाई पक्षपात नगरी पार्टीलाई मिलाएर लैजानुपर्ने धारणा व्यक्त गरेका छन् । यस्तो आवाज अहिले कांग्रेसलाई सबैभन्दा बढी आवश्यक छ ।
कांग्रेस व्यक्तिगत टकरावभन्दा माथि उठेर संस्थागत सहकार्य खोजिरहेको अवस्थामा छ । समस्या के छ भने समन्वयको भाषा बोल्ने नेताहरू कमजोर देखिन्छन्, जबकि टकरावको राजनीति गर्ने समूहहरू बढी सक्रिय छन् । असहमत पक्षले छुट्टै भेला गरिरहेको अवस्थामा त्यसलाई रोक्न र पार्टीमा मेलमिलाप कायम गर्ने उद्देश्यले थापाले केन्द्रीय समिति विस्तार गरेको हुन सक्छ । राजनीति गणितले चल्दैन, मनोविज्ञानले पनि चल्छ । असहमत पक्षले यसलाई आत्मसमर्पणको प्रस्ताव नभई नियन्त्रणको रणनीतिका रूपमा बुझ्यो । परिणाम उल्टो देखापर्यो ।
पार्टीले पश्चिम नेपालबाट भेला सुरु गर्नासाथ असहमत पक्षअन्तर्गत डा।शेखर कोइराला समूहले पूर्व नेपालबाट समानान्तर भेला सुरु गर्यो । यसले कांग्रेसभित्रको शक्ति संघर्ष अब खुला प्रतिस्पर्धामा बदलिएको संकेत गर्छ । दुवै पक्ष पछि हट्न तयार छैनन् । एकले अर्कोलाई निषेध गर्दै आफ्नो शक्ति प्रदर्शन गरिरहेका छन् । यस्तो अवस्थामा संगठनात्मक अनुशासन, वैचारिक बहस र लोकतान्त्रिक सहकार्य क्रमशः हराउँदै जान्छ । आज कांग्रेसको अवस्था भाँडभैलो भएको घरजस्तो देखिन्छ, जहाँ घरमूलीले जति प्रयास गरे पनि सबैलाई मिलाउन सकिरहेको छैन ।
गगन थापा सभापति भए पनि उनीसँग पूर्ण नियन्त्रण वा विश्वासको वातावरण देखिँदैन । उनीमाथि मुख्य आरोप छ, पार्टीलाई रूपान्तरण गर्न खोज्दा समन्वयको राजनीति कमजोर बनाए । परिवर्तनको हतारोमा उनले पुराना नेताहरूको मनोविज्ञान बुझ्न नसकेको आरोप पनि लागिरहेको छ । कांग्रेसजस्तो ऐतिहासिक र गुटीय संरचनायुक्त पार्टी लोकप्रिय भाषणले मात्र चल्दैन, धैर्य, सन्तुलन र सहमतिको कला पनि आवश्यक पर
विडम्बना के छ भने कांग्रेसमा देशकै सबैभन्दा बौद्धिक, अनुभवी र राजनीतिक रूपमा परिपक्व नेताहरू छन् । त्यही बौद्धिकता कहिलेकाहीँ अहंकारमा बदलिने गरेको छ । प्रत्येक नेता आफूलाई सही ठान्छन्, कसैले पनि केही कदम पछि हटेर साझा सहमतिको वातावरण बनाउन चाहँदैनन् । यही कारण कांग्रेसभित्र विचारभन्दा व्यक्तित्वको टकराव बढी देखिन्छ । जब नेताहरूबीच विश्वास हराउँछ, तब संगठन कागजमा मात्र बाँकी रहन्छ ।
आज कांग्रेसलाई सबैभन्दा बढी आवश्यक कुरा पद बाँडफाँट होइन, विश्वास पुनर्निर्माण हो । जबसम्म नेताहरूले प्रतिशोधको राजनीति छोडेर आत्मसमीक्षा गर्दैनन्, तबसम्म कुनै समिति विस्तार, कुनै मनोनयन वा कुनै भेला–बैठकले समाधान दिने छैन । कांग्रेसले बुझ्नुपर्ने कुरा के हो भने जनता गुटीय युद्ध हेर्न चाहँदैनन् । जनता स्थिरता, स्पष्टता र जिम्मेवार नेतृत्व खोजिरहेका छन् । यदि कांग्रेसले यही शैलीलाई निरन्तरता दियो भने उसले आफ्नो संगठन मात्र होइन, लोकतान्त्रिक विरासत पनि कमजोर बनाउनेछ । अहिलेको संकट कुनै एक नेताको असफलता मात्र होइन, कांग्रेसको समग्र राजनीतिक संस्कृतिको संकट हो । गगन थापा मात्र होइन, सम्पूर्ण कांग्रेस नेतृत्वले आफूलाई पुनः परिभाषित गर्नुपर्ने बेला आएको छ । अन्यथा इतिहासले कांग्रेसलाई लोकतन्त्र बचाउने दलभन्दा आफ्नै विवादले थिलथिलो बनेको दलका रूपमा सम्झन थाल्नेछ ।

LEAVE A REPLY