विद्यार्थी पलायन रोकौं

सम्पादकीय

हरेक वर्ष विदेशमा उच्च शिक्षा हासिल गर्न भन्दै विद्यार्थीहरु विदेश पलायन भइरहेका छन् । कक्षा १२ उत्तीर्ण गरेपछि विद्यार्थीको चाहना गुणस्तरीय उच्च शिक्षा हासिल गर्नका लागि विदेश जाने रहेको हुन्छ । विदेशमा गए, कमाउदै पढ्दै गर्ने र पैसा पनि कमिने लोभले अधिकांश विद्यार्थी अष्ट्रेलिया, अमेरिका, क्यानडा, जापानलगायतका देशमा पढ्न जाने र उतै पलायन हुने इच्छा राख्दछन् । यसो गर्दा राम्रा तथा जेहन्दार विद्यार्थी सबै बाहिर जाने र जाँदा ठूलो हिस्सामा पैसा पनि बाहिरिने गरिरहेको छ । यसो गर्दा नेपालको उर्वरशक्ति बाहिरिने र नेपालका कलेजहरुमा विद्यार्थीको संख्या घट्नेक्रम बढीरहेको छ । हरेक वर्ष, करिब ३ लाखले कक्षा १२ उत्तीर्ण गरेका हुन्छन् भने सोही मात्रामा स्नातक तह पनि उत्तीर्ण गरेका हुन्छन् । तीमध्ये प्राय ६० प्रतिशत उत्तीर्णको इच्छ विदेश जाने नै भएको देखिन्छ ।
यो इच्छा स्वदेशमा राम्रो पढाइ नभएर जागेको होइन । अध्ययन पुरा भएपछि के गर्ने, कसरी रोजगार बन्ने भन्ने कुनै निश्चित नभएर विद्यार्थीले नेपालमा कुनै भविष्य नदेख्दा यो विदेश जाने लहर चलेको हो । पूर्ववर्ती सरकारले यस्ता विद्यार्थीलाई विदेश जान रोक्न सकेन । नेपालमा भविष्य देखाउन सकेन । त्यसैले हजारौं शिक्षित विद्यार्थी बेरोजगारी छन् । त्यस्ता विद्यार्थीले रोजगारीका लागि विदेशको बाटो रोज्नु बाध्यता जस्तै भएको छ । कक्षा नर्सरीदेखि स्नातक उत्तीर्ण गर्दा निजि स्कुल कलेजमा बढ्नुपर्ने बाध्यताका कारण लाखौंं रुपैया सकिइसकेको हुन्छ । त्यसको पूर्ति गर्नका लागि पनि विद्यार्थी कमाउदै पढ्दै गर्न विदेश जाने चाहना राख्दछन् । ३०औं लाख खर्च गरेर जाँदा त्यसको उपलब्धि राम्रो हुन्छ नै भन्ने कुनै निश्चित पनि हुँदैन । त्यसैले सरकारले नेपालमै कमाउदै पढ्दै गर्ने वातावरण बनाउन जरुरी छ । ठूलो धनराशी खर्च गरेर रिस्क मोल्दै विदेश जानुभन्दा आफ्नै देशमा योग्यता र क्षमता अनुसारको आयस्रोतको व्यवस्था गर्ने हो भने विद्यार्थी आफ्नै देशमा बसेर अध्ययन गर्न पाउने र अभिभावकलाई अध्ययन गरेको खर्चको तनाव कम हुने र विद्यार्थी स्वदेशमै आत्मनिर्भर बन्न सक्ने अवसर प्राप्तिका लागि सरकारले विद्यार्थी विदेश पलायन हुनबाट तुरुन्त रोक्नुपर्दछ । सरकारले बेलैमा विवेक पुर्याउन नसक्दा लाखौं विद्यार्थी विभिन्न देशमा रहेका र उतै पलायन हुने मनस्थितिमा पुगेका देखिन्छन् । त्यसैले अब वर्तमान सरकारले विद्यार्थी पलायन रोक्दै विदेशमा भएका विद्यार्थीलाई नेपाल फर्काउन समेत पहल गर्न जरुरी देखिएको छ ।
विद्यार्थीको विदेश मोह बढ्दा नेपालमा स्थापित राम्रा राम्रा कलेजहरुमा समेत विद्यार्थी कोटा पुगिरहेका छैनन् भने आफ्नो देशको युवा तथा चेतनशील शक्ति विदेशीकै दास बन्नुपर्ने बाध्यता छ । अध्ययन सक्ने, पीआर प्राप्त गर्ने र घरघडेरी किन्ने, गाडी किनाउने र त्यसको लोन९ऋण० तिर्दै जीवन उतै बिताउने गरिरहेका छन् । यसो गर्दा नेपालको जनसंख्या घट्नु मात्र होइन, नेपालमा कुनै भविष्य र सम्भावना नै रहेनछ भन्ने भाव विदेशीहरुमा समेत पर्न सक्छ ।

LEAVE A REPLY