सभापति लामिछानेद्वारा पार्टीभित्र म बाट हामीमा रुपान्तरण हुन नेता तथा कार्यकताहरुलाई आह्वान

काठमाडौँ, जेठ २३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले पार्टीभित्र व्यक्तिगत स्वार्थ र सङ्कुचित चिन्ता त्यागेर ‘म’ बाट ‘हामी’ मा रूपान्तरण हुन पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।
रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशन प्रक्रिया अन्तर्गत जिल्ला अधिवेशनका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले अधिवेशन र महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभएर पार्टीको अनन्तकालीन जीवन, विधि(पद्धति, अभ्यास र स्वस्थ परम्परा निर्माण गर्ने ऐतिहासिक अवसर भएको बताउनुभएको छ ।
सभापति लामिछानेले पार्टीको सर्वोपरि हितका लागि हरेक तहमा सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै संवाद, सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक विधिहरू अपनाएर नेतृत्व चयन गरिनु नै रास्वपाको संस्कार भएको स्पष्ट पार्नुभयो ।
पार्टीलाई उन्नत लोकतान्त्रिक शक्ति बनाउने लक्ष्य लिइएको बताउनुहुँदै उहाँले विचार मात्र नभएर शैली, व्यवहार र राजनीतिक संस्कार पनि उन्नत हुनुपर्नेमा जोड दिनुभयो । “पुरानै सोच, शैली र प्रवृत्ति बोकेर हामी नयाँ र परिष्कृत जनमैत्री शक्ति बन्न सक्दैनौँ,” सन्देशमा भनिएको छ, “स्थापनाकालमा सीमित दायरामा सहमतिका आधारमा बाँडिएका तदर्थ जिम्मेवारीलाई स्थायी मानक मानेर पदोन्नतिको अपेक्षा राख्ने वा ‘योगदान’ को हिसाबकिताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन ।”
चार वर्षकै अवधिमा यस्तो प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय भएको भन्दै उहाँले यसलाई समयमै सच्याउनुपर्ने बताउनुभयो । पार्टी जिम्मेवारीमा रहेर भविष्यमा संसदीय अवसर प्राप्त गर्ने आशयले नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्ति पनि कहिलेकाहीँ देखिएको उल्लेख गर्दै सभापति लामिछानेले यस्ता प्रवृत्तिलाई अधिवेशनकै लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नु आजको आवश्यकता भएको औँल्याउनुभयो ।
रास्वपा आजको अवस्थामा आइपुग्नु केवल केही व्यक्तिको योगदानले नभई सबैभन्दा माथि मतदाताको विवेक र पार्टीका सम्पूर्ण सदस्यहरूको समर्पणले सम्भव भएको उहाँको भनाइ छ । पुराना साथीहरूले बनाएको जगमा नयाँ पुस्ताको ऊर्जा र सक्रियताले पार्टीको यात्रा यहाँसम्म आइपुगेको उहाँले उल्लेख गर्नुभयो ।
अब रास्वपाको लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने मात्र नभएर मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने रहेको स्पष्ट पार्दै उहाँले त्यसका लागि पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । सङ्गठन विस्तार हुँदा ‘म रहन्नँ कि’ भन्ने सङ्कीर्ण चिन्ता त्याग्न आग्रह गर्दै उहाँले पार्टी ठुलो हुँदा सबैको भूमिका अझ अर्थपूर्ण हुने विश्वास दिलाउनुभयो ।
युगले दिएको अभिभारा पूरा गर्न, पछिल्लो जनमतलाई अझ विस्तार गर्न र राजनीतिलाई सुसंस्कृत, पारदर्शी तथा जनमैत्री बनाउन सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्नेमा उहाँको जोड थियो । सभापति लामिछानेले पार्टीको पहिलो ऐतिहासिक महाधिवेशन प्रक्रिया सभ्य, भव्य, सुसंस्कृत र सन्देशमूलक बनोस् भन्दै रास्वपा परिवारप्रति शुभेच्छासमेत व्यक्त गर्नुभएको छ ।

LEAVE A REPLY