काठमाडौँ । पूर्व गृह मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद सुधन गुरूङले आफू छानबिन समितिबाट निर्दोष साबित हुनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। आइतबार रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशन सत्रलाई सम्बोधन गर्दै उनले यदि आफू पुनः गृहमन्त्री बनेमा सुरुका दुई महिनासम्म बधाई दिन र तस्बिर खिच्न मन्त्रालय नआउन कार्यकर्ता तथा शुभेच्छुकहरूलाई अनुरोध गरे।
“यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामको लागि सुरूका दुई महिना कोही पनि नआइदिनुहोला,” उनले भने। सार्वजनिक पदमा रहँदा उठेका सवालहरूको सामना गर्न आफू सधैं तयार रहेको र सोहीअनुसार जिम्मेवारीपूर्वक प्रस्तुत भएको उनले स्पष्ट पारे।
सम्बोधनका क्रममा सांसद गुरूङले आफूमाथि लागेका आरोपबारे गठन भएको छानबिन समितिसमक्ष बयान दिँदाको एउटा रोचक प्रसंग समेत सुनाए। सार्वजनिक पदमा बसेपछि प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै आफू समितिमा उपस्थित भएको उनको भनाइ थियो
“बयानका क्रममा कतिपय प्रश्नहरू निकै कडा थिए, जसको मैले सोहीअनुसार सहज र स्पष्ट जवाफ दिएको छु,” उनले थपे, “समितिले मलाई यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयो?भनेर प्रश्न गर्यो। मैले पनि सहज रूपमा छानबिन समितिलाई नै ‘तपाईंको पनि सम्पत्ति छानबिन गरौं न त’ भनेर प्रतिप्रश्न गरिदिएँ।”
सांसद गुरूङले रास्वपाको संगठन निर्माण र आगामी नेतृत्वको कार्यशैलीका बारेमा पनि आफ्नो धारणा राखेका छन्। अब बन्ने जिल्ला सभापतिहरू राजधानी काठमाडौं केन्द्रित हुन नहुने उनको तर्क छ।
“अब बन्ने सभापतिले जिल्लामै बसेर पार्टीका गतिविधिहरू अगाडि बढाउनुपर्छ,” उनले नेतृत्वलाई सुझाउँदै भने, “राजधानीमा बसेर जिल्लाको सभापति बन्ने हो भने चुनावका बेला मात्र जनतामाझ पुगिन्छ, जसले पार्टीलाई कुनै फाइदा गर्दैन।”









