अभ्यासमा विश्वकप दाबेदार टिम बलियो

न्युयोर्क, जेठ २५ गते । विश्वकप फुटबल २०२६ का उपाधि दाबेदार अर्जेन्टिना, पोर्चुगल, ब्राजिल, इङ्ग्ल्यान्डले आइतबार अभ्यास खेलमा जित हात पारेका छन् ।
इन्डिरक र बु्रनो ग्युमारेजले गोल गरेपछि ब्राजिलले विश्वकपमा सहभागी अर्को टिम इजिप्टलाई २–१ ले हरायो । इजिप्टका लागि मोस्तफा जिकोले गोल गर्नुभएको थियो । ग्युमारोज र जिको दुवैले विपक्षी डिफेन्डरको गल्तीमा गोल गर्ने अवसर पाउनुभएको हो ।
ब्राजिल दुवै अभ्यास खेल जितेर उच्च मनोबलका साथ विश्वकपमा जाँदै छ । पहिलो अभ्यास खेलमा ब्राजिलले पनामालाई ६–२ ले हराएको थियो । समूह ‘सी’ मा रहेको ब्राजिलले सन् २००२ को सेमिफाइनलिस्ट मोरोक्कोसँग जुन १३ मा खेलेर विश्वकपको सुरुवात गर्दै छ । ब्राजिलको समूहमा स्कटल्यान्ड र हाइटी पनि रहेका छन् ।
स्कटल्यान्डले पनि अभ्यास खेलमा बोलिभियाविरुद्ध ४–० को प्रभावशाली जित हात पारेर ब्राजिललाई चेतावनी दिएको छ । न्यु जर्सीमा भएको सो खेलमा स्कटल्यान्डका चे एडम्सले दुई तथा लरेन्स सान्कल्यान्ड र स्कट म्याकटोमिनेले एकरएक गोल गर्नुभयो । स्कटल्यान्डले २८ वर्षपछि विश्वकप खेल्दै छ । विश्वकपमा स्कटल्यान्डको पहिलो खेल हाइटीसँग रहेको छ ।
यसै गरी लियोनेल मेसीबिना मैदामा उत्रेको अर्जेन्टिनाले पनि अभ्यास खेलमा होन्डुरसलाई २–० ले हरायो । टक्सामा भएको सो खेलमा उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेज र गिउलियानो सिमियोनीले गोल गर्नुभयो । प्रशिक्षक लियोनेल स्कालोनीले मेसीलाई फिटनेसका कारण खेलाउनुभएन । गत मे २४ मा मेसीको मांसपेशीमा खिचाव उत्पन्न भएको थियो । अर्जेन्टिनाले विश्वकपमा जानुअघि अझै एक अभ्यास खेल खेल्ने छ । अर्जेन्टिनाले मङ्गलबार आइसल्यान्डसँग खेल्ने अभ्यास खेललाई टुङ्ग्याउने छ । तीन पटकको विजेता अर्जेन्टिनाले जुन १७ मा अल्जेरियासँग पहिलो खेल खेल्ने छ ।
क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलले पनि चिलीलाई २–१ ले हराएर अभ्यास खेल जितेको छ । घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले रोनाल्डोबाटै सुरुवात गरेको थियो । रोनाल्डोले एक पटक बल गोलपोस्टमा पनि छिराउनुभयो तर उहाँ अफसाइडमा रहेकोले सो गोलले मान्यता पाएन । मध्यान्तरपछि उहाँलाई स्थानापन्न गरिएको थियो ।
त्यसबेलासम्म दुवै टिम १०र१० खेलाडीमा सीमित भइसकेका थिए । पोर्चुगलका राफेल लियाओ र चिलीका इभान रोमनले एकै पटक रातो कार्ड पाउनुभएको हो । खेलको ५८ औँ मिनेटमा गोन्काले गुइडेजले पोर्चुगललाई अगाडि पार्नुभयो । त्यसपछि प्रिमियर लिग ‘प्लेअर अफ दी इयर’ बु्रनो फर्नान्डेजले लामो दुरीबाट गोल गरी पोर्चुगलको जित पक्का गर्नुभयो । इन्जुरी समयमा चिलीका लुकास केपेडाले सान्त्वना गोल गर्नुभयो । विश्वकपमा खेल्नुअघि पोर्चुगलले नाइजेरियासँग पनि अभ्यास खेल खेल्ने छ । यस विश्वकपमा पोर्चुगल समूह ‘के’ मा कङ्गो, उज्बेकिस्तान र कोलम्बियासँग रहेको छ ।
बेल्जियमले घरेलु मैदानमा विश्वकपमा खेल्ने अर्को टिम ट्युनिसियालाई ५–० को फराकिलो अन्तरले पराजित ग¥यो । बेल्जियमका लागि लियान्ड्रो ट्रोसार्ड, चाल्र्स डी केटेलायरे, केभिन डी ब्रुयन, डोडी लुकबाकियो र निकोलस रास्किनले गोल गर्नुभयो । बेल्जियमका अन्तिम तीन गोल ट्युनिसियाका इस्माइल घार्बीले रातो कार्ड पाएर मैदान छोडेपछि गरेको हो ।
बेल्जियमले अफ्रिकाबाट चयन भएको इजिप्टसँग जुन १५ मा पहिलो खेल खेल्ने छ । उसको समूह ‘जी’ मा न्युजिल्यान्ड र इरान पनि रहेका छन् । ट्युनिसिया समूह ‘एफ’ मा नेदरल्यान्ड्स, जापान र स्विडेनसँग रहेका छन् ।
यसै गरी इङ्ग्ल्यान्डले अभ्यास खेलमा न्युजिल्यान्डलाई १–० ले हरायो । ह्यारी केनले आफ्नो ७९ औँ अन्तर्राष्ट्रिय गोल गरेपछि इङ्ग्ल्यान्डको जित सम्भव भएको हो । पूर्वार्धको इन्जुरी समयमा जेड स्पेन्सको क्रसमा केनले बल फ्लिक गरी गोल गर्नुभएको हो । फिफा वरीयतामा आफूभन्दा ८१ स्थान तल रहेको टिमविरुद्धको जितबाट इङ्ग्ल्यान्डले प्रभावित भने पार्न सकेन तर केनले यहाँ नतिजाभन्दा तयारीका रूपमा खेलेको बताउनुभयो ।
गत बुधबार भएको अभ्यास खेलमा हाइटीसँग ४–० ले पराजित भएको न्युजिल्यान्डले इङ्ग्ल्यान्डसँग भने राम्रो प्रदर्शन गरेको थियो । इङ्ग्ल्यान्ड समूह ‘एल’ मा क्रोएसिया, घाना र पनामासँग रहेको छ । यस समूहलाई ‘ग्रुप अफ डेथ’ पनि भनिएको छ । एजेन्सी

LEAVE A REPLY