विश्वविद्यालयको राजनीतिकरण पूर्ण रुपमा अन्त्य गर्छौँः शिक्षा मन्त्री पोखरेल

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी चार वर्षभित्र विश्वविद्यालयहरूमा कायम रहेको राजनीतिकरण पूर्ण रूपमा अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवसका अवसरमा आयोजित झण्डोत्तोलन समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने सरकारको स्पष्ट नीति रहेको सुनाए। दलीय भागबण्डाको परिपाटी अन्त्य गर्दै अबका दिनमा विश्वविद्यालयको नेतृत्व, नियुक्ति, सरुवा तथा बढुवाजस्ता प्रशासनिक निर्णयहरू विशुद्ध योग्यता र क्षमतामेरिटोक्रेसीका आधारमा मात्र गरिने उनको भनाइ छ।
विश्वविद्यालय सभाका उपाध्यक्षसमेत रहेका मन्त्री पोखरेलले विश्वविद्यालयको स्वायत्तता रक्षाका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै कुनै पनि राजनीतिक दल वा पक्षबाट अनुचित दबाब आए त्यसको प्रतिरोध गर्ने चेतावनी दिएका छन्। पदाधिकारी तथा कर्मचारीहरूलाई राजनीतिक दबाब आएमा तुरुन्त शिक्षा मन्त्रालयमा जानकारी गराउन आग्रह गर्दै उनले आफ्नै दलबाट आउने दबाबविरुद्ध पनि उभिन तयार रहेको स्पष्ट पारे। राजनीतिक स्वार्थभन्दा माथि उठेर शैक्षिक सुधारका कामहरू अगाडि बढाउने दोहोर्‍याउँदै मन्त्री पोखरेलले अब विश्वविद्यालयमा प्रणाली र न्यायसंगत निर्णय मात्र लागू हुने दाबी गरे।

LEAVE A REPLY