इलाम–२ मा चुनावी सरगर्मी चरम विन्दुमा, बाजी कस्ले मार्ला?

काठमाडौं । जति–जति उप निर्वाचन गर्ने दिन नजिकिदै जान्छ, त्यति त्यति चुनावी सरगर्मी चरम विन्दुमा पुग्दै गएको छ । यही वैशाख १५ गते हुने निर्वाचनका लागि त्यहाँ उम्मेदवार कार्यकर्ता मात्र होइन मन्त्री र नेता नै इलामेली जनताका घरदैलो गरिरहेका छन् । चुनावी प्रचारप्रसारमा केन्द्रीय नेताको भीड लागिरहेको
छ । मतदाता आफूतिर तान्न जनतालाई चर्काचर्की आश्वासन दिईरहेका छन् । मतदाता फकाउन चर्को प्रतिस्पर्धी नै चलिरहेको छ ।
उपनिर्वाचनमा मुख्य गरी नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एमाले र पहिचानवादी समूहले प्रचारप्रसारलाई तीव्रता दिएका
छन् । प्रचारप्रसार गर्ने क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वैशाख ५ मा चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो । अध्यक्ष ओलीले गर्नुभएको सम्बोधन सभामा उपाध्यक्ष रामबहादुर थापा, सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्य शेरधन राईलगायतको सहभागिता रहेको थियो । एमालेले चुनावी कमाण्डर स्थायी कमिटि सदस्य शिवमाया तुम्बाहाम्फेलाई तोकेको छ । माओवादी केन्द्रले एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले इलाम–२को उपनिर्वाचनमा महामन्त्री विश्वप्रकाश शर्मालाई निर्वाचन परिचालन समितिको संयोजक बनाएको छ । अर्का महामन्त्री गगन कुमार थापा चुनावी अभियानका लागि दोस्रो पटक इलाम–२ पुगेर चुनावी सभा गरी घरदैलो कार्यक्रममा लाग्नुभएको छ । प्रचार अभियानका क्रममा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, सहमहामन्त्री भीष्म आङदम्बे, पूर्व महामन्त्री शशांक कोइरालालगायतका नेता चुनावी क्षेत्रमा पुगिसकेका
छन् । कांग्रेसले अघिल्लो निर्वाचनमा थोरै मतले पराजीत भएका डम्बर खड्कालाई उम्मेदवार बनाएको छ ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सिंगो पंक्तिनै चुनावी केन्द्रीत हुने गरी अरुको तुलनामा धेरै नेतालाई खटाएको छ । पार्टीका शीर्ष नेता, मन्त्री, केन्द्रीय सदस्य र सांसदलाई समेत रास्वपाले खटाएको छ । चुनावी सभाका लागि दोस्रो पटक इलाम पुग्नु भएका मन्त्री लामिछाने भोली अर्थात वैशाख १२ सम्म इलाममै रहनुहुने बताएको छ ।
त्यस्तै सत्तारुढ दल एकीकृत समाजवादीले आफ्नै उम्मेदवार खडा गरी जीतबहादुर राईका पक्षमा मत माग्न पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल आफैं लाग्नु भएको छ । खनाल एकीकृत समाजवादीका उम्मेदवार राईका चुनावी कमाण्डर समेत हुनुहुन्छ । पहिचानवादीबाट स्वतन्त्र उम्मेदवार बन्नु भएका डकेन्द्र सिंह थेगिमलाई जनता समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीले समर्थन गरेका छन् । विभिन्न १ वटा घटक दल र संघसंस्थाको समर्थनमा उम्मेदवार बनेका थेगिमको समर्थनमा अधिवक्त स्वागत नेपाल, लेखक युग पाठक इलाम पुगेका थिए ।
इलाम–२ का संघीय सांसद तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको गत भाद्र २६ गते निधन भएपछिको उपनिर्वाचनमा १९ जना उम्मेदवार भए पनि मुख्यगरी चारदलका उम्मेदवारबीच चर्को प्रतिस्पर्धा हुने हुँदा धेरै मतान्तरमा हारजीत नहुने देखिन्छ ।
चारै दलबीच चर्को प्रतिस्पर्धा हुने हुँदा कस्ले चुनाव जित्छ भनेर यकिन गर्न त सकिँदैन तर सम्भावना सुहाङ नेम्वाङकै देखिन्छ ।

LEAVE A REPLY