काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आमसञ्चार माध्यमलाई नियन्त्रण गर्नेभन्दा पनि सञ्चार माध्यम स्वनियममा बस्नुपर्ने बताउनुभयो । उहाँले राजधानीको राष्ट्रिय सभागृह हलमा नेपाल पत्रकार महासंघको २७औं महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा त्यस्तो अभिव्यक्ति दिनुभएको हो ।
उहाँले असत्य, भ्रामक र मिथ्या सूचनाका कारण नेपाली समाजलाई भ्रमित तुल्याउने, नकारात्मक मानसिकताको विकास गराउने, सामाजिक सद्भाव विथोल्ने कार्य हुँदै आएकोले अब आइन्दा त्यसो नगर्न आग्रह पनि गर्नुभयो । उहाँले राजतन्त्रात्मक व्यवस्थामा समाचार लेखेकै कारण पत्रकार जेल जानुपर्ने, मरिनुपर्ने, समाचार सामाग्री सेन्सरसीप गराउनुपर्ने तथा सञ्चार साधन अवरुद्ध गरिने भए पनि त्यसको अन्त्य गर्न सफल भएको जिकिर गर्नुभयो । उहाँले प्रेस स्वतन्त्रता संघीय लोकतान्त्रिक गणतन्त्रकै एउटा अंग भएको बताउँदै कसैले पनि प्रेस स्वतन्त्रता कुण्ठित गर्न नसक्ने प्रष्ट पार्नुभयो । पत्रकारिता क्षेत्रकै कारण देशमा ठूलो परिवर्तन आएको उहाँको भनाई छ ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जेष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी गरीरहेको जानकारी दिनुभयो । सरकारले सञ्चार क्षेत्रको व्यवसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवा मुलुक उद्योग सरह मान्यता प्रदान गरी संरक्षण र सम्वद्र्धन गर्ने नीति लिएको पनि बताउनुभयो । ‘सरकारले प्रवाह गर्ने सबै सरकारी विज्ञापन न्यायिक ढंगले वितरण गर्ने व्यवस्था मिलाइदैछ ।’ उहाँले भन्नुभयो ।
मिडियाको साझा दायित्वः प्रधानमन्त्री प्रचण्डले कुनै पनि क्षेत्रमा हुने बद्मासीको भण्डाफोर गर्नु र त्यस्तो बद्मासी गर्नेहरुलाई कानूनी कठघरामा उभ्याउनु मिडियाको साझा दायित्व भएको बताउँदै मिडिया क्षेत्रले सूचना प्रवाह गरेर आफ्नो भूमिका निभाउनुपर्ने बताउनुभयो । उहाँले सुशासन प्रवद्र्धनमा पत्रकारिता क्षेत्रले निर्वाह गरिरहेको भूमिकाको उच्च प्रशंसा समेत गर्नुभयो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक अधिकार बिना प्रेस स्वतन्त्रता सम्भव नहुने र प्रेस स्वतन्त्रता बिनाको राजनीतिक अधिकार अपूर्ण हुने भएकाले राजनीति र पत्रकारिता सँगसँगै अघि बढ्ने बताउनुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सञ्चार कानून धेरै पुराना भएकाले द्रुत रुपमा निर्माण गर्नुपर्ने बाटो खोज्नुपर्ने बताउनुभयो । नेपाली कांग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री मिनेन्द्र रिजालले सत्ता नै अन्तिम हो भन्ने मान्य निर्माण हुँदै गएकाले त्यसलाई चिर्न आवश्यक भएको बताउनुभयो । उहाँले सार्वजनिक प्रसारण ऐन मन्त्रालयलाई केन्द्रमा राख्नेभन्दा स्रोतालाई बढी ध्यान दिएर ल्याउनुपर्ने जिकिर गर्नुभयो ।

LEAVE A REPLY