गण्डकी। पोखरा महानगरपालिका–१६ अर्मलाका महिलाहरू सामूहिक कृषितर्पm आकर्षित भएका छन् ।
प्रगति कृषि समूह गठन गरी जग्गा भाडामा लिएर महिलाहरू सामूहिक कृषिखेतीमा लागेका हुन । समूहकी अध्यक्ष चिनमाया सुवेदी श्रेष्ठले दुई रोपनी जग्गामा मौसमअनुसार आलु, मुला, केराउ, काँक्रोलगायतका नगदेबाली गर्दै आएका र वर्षाको समयमा सोही जग्गामा परीक्षणकारूपमा विभिन्न छ जातका धान रोप्ने तयारी भइरहेको बताइन् ।
“स्यालघारी फाँटको जग्गामा यतिखेर लटरम्म काँक्रा फलेका छन् । फागुन महिनामा लगाएका भक्तपुरे जातको काँक्राका एक सय ३२ वटा बिरुवाले उत्पादन दिन सुरू गरेका छन् । वैशाखको अन्तिम सातादेखि उत्पादन सुरू भएको काँक्रा बिक्रीबाट १५ हजारभन्दा बढी आम्दानी गर्न सफल भएका छौँ”, अध्यक्ष सुवेदीले भनिन्। हाल प्रतिकेजी ८० मा बारीबाटै काँक्रा बिक्री हुने गरेको छ ।
उनले समूहमा आवद्ध महिलाहरूले नै बारीबाट काँक्रा खरिद गरेर बजारमा बिक्री गरी राम्रो आम्दानी गरिरहेका बताइन् । “उत्पादन भएका काँक्रा बिक्री हुँदैन की भनेर चिन्ता गर्नुपर्दैन समूहकै महिलाले प्रतिकेजी ८० का दरले बारीबाटै खरिद गरेर लानुहुन्छ” अध्यक्ष श्रेष्ठले भनिन्,“सोही काँक्रो स्थानीय बजारमा बिक्री गरेर जीविकोपार्जनको आधार बनिरहेको छ ।”
विसं २०७४ मा कारितास नेपालको सहयोगमा स्थापना भएको किसान समूहमा हाल बीस जना सदस्य आवद्ध छन् । समूहकी सचिव सोनिया सुनारले प्रत्येक शनिबार घरको सबै काम पन्छ्याएर बारिको माटोमा पसिना चुहाउँदा राम्रो आम्दानी हुने गरेको बताइन् ।
“संस्थामा आवद्ध सदस्य हप्ताको एक दिन बारिमा जम्मा हुन्छौँ, आवश्यक मल पनि घरबाटै बोकेर लैजाने गरेका छौँ” उनले भनिन्,“कुनै पनि विषादि प्रयोग गरेका छैनौँ उत्पादित अर्गानिक काँक्रो बजारमा पठाउँन पाउँदा खुसी लागेको छ । यसले बेरोजगार भएर घरमै बस्दै आएका महिला हाल तरकारी उब्जायर आफूलाई आवश्यक पैसासमेत कमाउन थालेका छौँ ।”
सचिव सुनारका अनुसार ३० देखि ६० वर्ष उमेर समूहका महिला सङ्गठित भएर कृषि गर्दै आएका छन् । उनीहरूलाई बेलाबेला अघिल्लो वर्ष पोखरा महानगरले १० हजार आर्थिक सहयोगसमेत गरेको थियो । “आधुनिक कृषिऔजार, मल, बीउलगायत अत्यावश्यक सुविधा पाउने हो भने खेती विस्तार गर्दै जाने सोचमा छौँ । त्यसले हाम्रो आम्दाी वृद्धिमा पनि सहयोग पुग्थ्यो । हाल वार्षिक तीनदेखि चार लाखसम्म आम्दानी गर्दै आएको छौँ ।”








