सरकारले मिडिया विधेयक ल्याएर स्वतन्त्र मिडियालाई आफ्नो मुठीभित्र पार्ने प्रयास गरिरहेको छ । यो राम्रो कुरा होइन । स्वतन्त्र मिडियालाई सरकारले नियमन गर्ने हो भने मिडियाले निष्पक्ष र मौलिकता प्रदर्शन गर्न सक्दैन । मुलुकमा जुन दल नेतृत्वको सरकार बन्छ, त्यही दलको भजन गाउन मिडिया बाध्य हुनुपर्दछ । अनि कसरी हुन्छ निष्पक्ष पत्रकारिता रु
हो, कतिपय मिडिया पीत पत्रकारिता गरेर आर्थिकस्तर बढाउँदै होलान् । बढाएका पनि होलान् । त्यस्ता मिडियालाई नियमन गर्नु राम्रो कुरा हो तर नियमन सरकारले होइन प्रेस काउन्सिल नेपालले गर्नुपर्छ । इमान्दार मिडिया र पीत पत्रकारिता गर्ने मिडियालाई एउटै बास्केटमा राखेर कारवाही गर्न खोज्नु सुहाउदिलो व्यवहार होइन ।
अहिले साना–ठूला मिडिया सबैलाई आर्थिक संकट छ । पीत पत्रकारीता गर्ने केही मिडिया बाहेक अन्यलाई आर्थिक संकट छ । मर्नु न बाँच्नुको दोसाँधमा छन् । काठमाडौं महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण, राष्ट्रिय बीमा प्राधिकरण, दूरसञ्चार प्राधिकरण लगायतका सरकारी निकायका ठूला कार्यालयहरुले नीजि लगानीमा सञ्चालित मिडियालाई विज्ञापन दिन छोडी सके । किन यसो गरिएको हो भन्दा माथिको आदेश पालना गरेको हो भन्दै आएका छन् । उनीहरुको यो भनाइले नीजि लगानीका मिडिया मिडिया नै होइनन् यिनीहरुको घाँटी समाउनु पर्दछ भन्ने भाव सरकारको रहेको हो कि भन्ने संशय पैदा हुन थालेको छ ।
हिजो मुलुक राजनीतिक संकटमा पर्दा संकट मुक्त गर्ने प्रमुख भूमिका मिडियाकै थियो । अहिले संकटमुक्त भएपछि सरकारीलाई काखा र नीजिलाई पाखा गर्न मिल्छ रु सरकारको यस्तो व्यवहार आफैंमा लज्जास्पद र पक्षपातपूर्ण छ । यस्तो व्यवहार आजैदेखि त्याग्न सरकारलाई आग्रह छ । अहिले नीजि मिडियामध्ये पनि साना लगानीका मिडियाको हालत खराब छ । यस्तो स्थितिको समाधान गर्नु सरकारको प्रमुख दायित्व हो । त्यसैले, राज्यले दिँदै आएको सेवा सुविधामा वृद्धि गर्दै विज्ञापन वितरणमा निष्पक्ष लागू गर्न सरकारले विशेष ध्यान दिनुपर्दछ । तब मात्र सरकारको भूमिका मिडिया मैत्री बन्न सक्छ ।
अहिले कार्यालयहरुको व्यवसायीक र सन्देशमुलक विज्ञापन पाउने भनेको जो कार्यालय प्रमुखको निकट छ, उसले मात्र पाउने गरेको छ । निकटलाई बोलाई बोलाई दिने र टाढाकालाई बजेट छैन भनेर रित्तोहात फर्काउने पनि गरिएको छ । यस अर्थमा कर्मचारीले पनि मिडियाप्रति पक्षपातपूर्ण व्यवहार गरेको प्रष्टै पारेको छ । यस्ता कार्य चालु आर्थिक वर्षदेखि बन्न गरिनु पर्दछ । विज्ञापन समान रुपमा वितरण गर्ने व्यवस्था मिलाउनु पर्दछ । समाजमा घटेका घटना र बेथितिहरुलाई ऐनाझैं छर्लङ्ग पार्ने काम सबै मिडियाको हो । मिडियाकर्मीहरुले पनि निष्पक्ष पूर्वक समाचार संकलन र सम्प्रेषण गरेर आफ्नो दायित्व पुरा गर्नुपर्दछ ।