भविष्यमा प्राविधिक जनशक्तिको अभाव हुने अवस्था नजिकिदै –भोजकुमारी खड्का

नेपालमा भविष्यमा प्राविधिक जनशक्तिको अभाव हुने अवस्था नजिकिदै गएको छ । हरेक वर्ष १२ कक्षा र स्नातक तह उतीर्ण गर्ने विद्यार्थीहरु खाडी मुलुक लगायत अमेरिका, अष्ट्रेलिया, क्यानडा र बेलायतका मुलुकहरुमा जाने क्रम बढ्दो छ । पढ्ने बहानामा जाने र उतै पलायन हुने उद्देश्यका साथ अधिकांश विद्यार्थीहरु उतै जान लालायित भएको देखिन्छ । विगतदेखि अहिलेसम्म करिब एक करोडको हाराहारीमा नेपालबाट रोजगारीका लागि बाहिरिनेको संख्या पुगेको छ । त्यस संख्यामा करिब ५० लाख त विद्यार्थी नै पुगिसकेको एक तथ्यांकले देखाएको छ । यसरी बाहिरिने क्रममा नेपालबाट वार्षिक करोडौं रकमपनि सँगसँगै बाहिरिने गरेको छ । यस्तो अवस्थाको निराकरण गरी यहाँका मुलुक सञ्चालक र जिम्मेवार निकायले बेलैमा ध्यान पुर्याएनन् भने निश्चय पनि भविष्यमा प्राविधिक जनशक्तिको अभाव खड्कीने छ ।
शिक्षित, अर्धशिक्षित र सामान्य लेखपढ गर्न जान्ने व्यक्ति विदेश जानु पर्ने बाध्यताका कारण मुलुकमा केटा–केटी र बुढाबुढी मात्रै रहेको अवस्था छ । प्राविधिक जनशक्तिको अभावकै कारण मुलुकलाई प्राविधिक जनशक्तिको खाँचो पर्दा चर्को तलब र सेवा सुविधा दिएर विदेशी नागरिकलाई काम जिम्मा लगाउनुपर्ने अवस्था छ । सरकारी अस्पतालहरुमा दक्ष जनशक्ति नहुँदा लाखौं गहन रोगका बिरामीहरुले उपचार गर्न पाएका छैनन् । अस्पतालका बार्दली कुरेर त्यसै फर्किएका बिरामीहरुले उपचार नपाएकै कारण आत्महत्या समेत गरेका घटना देखा परिरहेका छन् । वर्तमान अवस्थालाई हेर्ने हो भने भविष्यमा प्राविधिक जनशक्तिको अभाव खड्किने निश्चित छ, त्यसैले बेलैमा सजग भई यस्ता समस्या भविष्यमा आउन नदिन केकस्ता उपाय गर्न सकिन्छ त्यसबारे सजगता बेलैमा देखाए भविष्यमा यस्ता समस्याबाट गुज्रन पर्ने थिएन । यस विषयमा पनि सरकारको ध्यान बेलैमा जाओस् ।

LEAVE A REPLY