काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार सम्बन्धी कसुरमा पाँच वर्षीय हदम्याद हटाउने विषय सर्वसम्मतिले पारित गरेको छ। आज बसेको समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा सरकारले ल्याएको पाँच वर्षीय हदम्याद हटाउन सहमति जुटेको हो।
गृहमन्त्री रमेश लेखकले सरकार पाँच वर्षीय हदम्याद हटाउन तयार रहेको बताए। सरकारले सो सहमति जनाएपछि समितिका सभापति रामहरि खतिवडाले विधेयकको दफा १६ मा राखिएको भ्रष्टाचारका मुद्दामा पाँच वर्षीय हदम्यादको प्रावधान हटाउने प्रस्ताव समितिमा गरेका थिए।
समितिका सबै सदष्यहरुले उक्त विषयमा हद म्याद हटाउने विषयमा सहमति जनाएका छन् । सरकारले ल्याएको उक्त विषयमा चौतर्फी आलोचना सिर्जना भएपछि लोकतान्त्रिक मान्यता अनुसार नै सरकारले उक्त विषय खारेज गरेको हो ।







