काठमाडौं, नेकपाएमाले अध्यक्ष केपी शर्मा ओलीले देशविरुद्ध हुने कुनै पनि समर्पण अस्विकार्य हुने बताउनु भएको छ। देशको स्वाभिमानको रक्षा अहिलेको आवश्यकता रहेको उहाँको भनाई ।
आगामी निर्वाचनमा घोषणापत्र तयारीका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा विज्ञहरुसँग सुझाव लिने क्रममा अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । उहाँले राष्ट्रियता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा समर्पणबाट हुन नसक्ने भन्दै त्यसको प्रतिरोध, प्रतिवाद र प्रतिरक्षा हुने बताउनुभयो ।
अध्यक्ष ओलीले सरकारले हालसम्म पनि निर्वाचनको वातावरण बनाउन नसकेको टिप्पणी गर्नुभयो । उहाँले भन्नु भयो, ‘पार्टीले हाल राज्यले गरेका गतिविधि नजिकबाट नियाली रहेको छ’ । एमाले प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार अध्यक्ष ओलीले सरकारबाट आजका दिनसम्म पनि निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढंगले सम्पन्न गर्ने वातावरण बनेको छैन ।
अध्यक्ष ओलीले २०७२ को भूकम्पपछि एमालेले पुनःनिर्माणको नेतृत्व गरेको स्मरण गराउँदै सुदृढ र तल्लो निकायसम्म संगठन भएकाले भदौको विध्वंसपछिको निर्माण पनि एमालेले गर्ने बताउनुभयो । ‘नेकपा एमाले सुदृढ संगठन, व्यापक जनमत र सर्वाधिक लोकप्रिय पार्टीको रुपमा स्थापित रहेको अध्यक्ष ओलीको भनाई छ ।








