भोजपुर । इच्छाशक्ति भएमा उमेरले नछेक्ने उदाहरण बनेका छन्, भोजपुर नगरपालिका–११, आम्तेकका धनबहादुर राई । उमेरले ७९ वर्ष पुगेका राई बाँसको सिन्का बनाएर भोजपुर बजारसम्म बिक्रीका निम्ति ल्याउने गर्छन् ।
धनबहादुरले भने, “विगतमा १० देखि २० रुपैयाँ मुठाका दरले सिन्का बेच्ने गरेको थिएँ । अहिले भने १२० सम्ममा बिक्री गर्दै आइरहेको छु ।”
सिन्का बनाउन धेरै समय र मिहिनेत लाग्ने गरेको उनले बताए । उनले भने, “८० वर्ष पुग्न लाग्दा पनि पुरानो पेसा गरिरहेको छु । बजारमा ल्याएको सिन्का सबैले किन्ने गरेका छन् । धैरेले त तराईतिर लान पनि ल्याइदिनु है बाजे पनि भन्छन् ।”
आफ्नै घरनजिक बाँसको झ्याङ रहेको र अरूबाट किन्नु नपर्ने भएकाले पनि आफूहरू सानैदेखि यो पेसामा लागेको धनबहादुरले सुनाए । उनले भने, “अहिले त खालि युवाहरू विदेश जान तम्सिन्छन् । तर, जोसजाँगर भए त गाउँघरमै पनि त्यत्तिकै त बस्नु पर्दैन ।”