काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा नेपालको पहिलो महिला प्रधानमन्त्री हुने भने पछि उक्त भनाइले नेपाली राजनीतिलाई सनसनीपूर्ण र तरंगीत बनाएको छ । प्रधानमन्त्रीले निकै रोचक र सनसनीपूर्ण कुरा बोलेको भन्दै भावी पहिलो महिला प्रधानमन्त्री पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीकी वर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवा हुने भन्ने विषयमा चोकचोक, गल्लीगल्ली र हरेक चिया कफी पसलसमा चर्चा चलिरहेको पाइन्छ । उनीहरु भन्दछन् ‘प्रधानमन्त्री ओलीले आफ्नो पहलमा पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीलाई बनाए, पहिलो सभामुख, ओनशरी घर्ति मगरलाई बनाए । पहिलो प्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाए । पहिलो मुख्यसचिव लिलादेवी गड्तौलालाई बनाए । अब, पहिलो महिला प्रधानमन्त्री पनि ढिलो चाडो बनाउँछन् ।’
प्रधानमन्त्री ओलीले कसलाई पहिलो महिला प्रधानमन्त्री बनाउने भनेर नतोकेपछि अहिले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र परराष्ट्रमन्त्री आरजु राणा देउवामध्येको होला पहिलो प्रधानमन्त्री भनेर जिज्ञासा र कौतुहलता चलिरहेको छ । पहिलो महिला प्रधानमन्त्रीको जिज्ञासा लिदै एकथरी भन्छन् ‘प्रधानमन्त्री ओलीले पहिलो महिला प्रधानमन्त्री पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई बनाउनु हुन्छ किनकी भण्डारीले राजनीतिमा फर्किने चाहना राख्नुभएको छ । भण्डारी राजनीतिमा आउँदा एमाले अध्यक्ष दाबी गर्न सक्नुहुन्छ, त्यसैले ओलीले भण्डारीलाई प्रधानमन्त्रीको पद दिएर आफ्नो अध्यक्ष पद जोगाउनु हुन्छ ।’
महिला प्रधानमन्त्रीकै विषयलाई लिएर अर्काथरीले तर्क गर्दछन् ‘प्रधानमन्त्री ओलीले भावी महिला प्रधानमन्त्रीमा आरजु राणा देउवालाई समर्थन गर्नुहुन्छ । कांग्रेससँग भएको सहमति अनुसार ओली २ वर्ष प्रधानमन्त्री हुने र कार्यकाल सकिएपछि कांग्रेससँग भएको सहमति अनुसार नै पहिलो महिला प्रधानमन्त्री चयन गर्नुहुन्छ । किनकी, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा एउटै व्यक्तिलाई दोहोर्याई, तेहेर्याई पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव ल्याएका छन् । त्यो प्रस्ताव पारित भएपछि अब पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न पाउनुहुन्न, त्यसैले मौकामा नेपाली कांग्रेसले पनि आरजु राणा देउवालाई प्रधानमन्त्री बनाउन सक्छ । त्यसैले भावी पहिलो महिला प्रधानमन्त्री आरजु राणा देउवा नै हो ।’
यस्ता चर्चा–परिचर्चा गत भाद्र ८ गते प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले उब्जाएको हो । यो कहिलेसम्म चल्छ भावी दिनले नै बताउला । राजनीतिक खेलाडीका रुपमा कहलिएका प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले सर्वसाधारणमा मात्रै होइन राजनीतिक वृत्त, बौद्धिक क्षेत्र र स्वयं राजनीतिक दलभित्र पनि ठूलो तरंग पैदा भएको छ । राजनीतिक वृत्त र कांग्रेस भित्रै पनि सभापति शेरबहादुर देउवाको विकल्पमा भावी प्रधानमन्त्री आरजु राणा हुन सक्ने चर्चा भईरहेको छ ।
एमाले कांग्रेस भित्र ओली र देउवाबीच ओलीपछिको प्रधानमन्त्री आरजुलाई बनाउने औपचारिक सहमति भएको त छैन ? भन्ने आशंका पनि त्यतिकै गरिदै छ । पार्टि सभापति देउवाले पनि आरजुलाई राजनीतिमा स्थापित गर्न चाहेको र स्थापित गर्ने क्रममा प्रधानन्त्री बनाउने भित्री चाहना राखेको देउवा निकट नेताहरु नै बताउँछन् । आरजुलाई प्रधानमन्त्री बनाउन पार्टी सभापतिमा शेखर कोइरालालाई सहयोग गर्ने र कोइरालाले पनि आरजुलाई प्रधानमन्त्रीमा सहयोग गर्नै सहमति हुन सक्ने चर्चा पनि चलेको छ । प्रधानमन्त्री ओलीले यसै सम्भावनालाई देखेर पहिलो महिला प्रधानमन्त्रीको अभिव्यक्ति दिएको हुनसक्ने तर्क पनि यदाकदा गरिदै छ ।
चर्चा र तर्क जे जस्तो भए गरे पनि प्रधानमन्त्री ओलीले हरेक क्षेत्रमा महिला सहभागिता अनिवार्य हुनुपर्ने नियम बनाउनु भएको छ । नियमभित्र ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने व्यवस्थामा आफ्नो प्रमुख भूमिका ररहेको पनि बताउनुभएको छ । महिलाको मनोबल बढाउन र आत्मविश्वास जगाउन स्टार्टअपमा ४ प्रतिशत ब्याजदरमा १५ लाख रुपैयाँ समेत दिन सकिने व्यवस्था पनि गर्नुभएको छ । समग्रमा भन्नुपर्दा प्रधानमन्त्री ओली महिलाको व्यक्तित्व विकासमा ध्यान दिने व्यक्तित्व नै हो । उहाँका विचारलाई कसैले खोट लगाउन सक्ने ठाउँ छैन ।