२०७२ सालमा संविधान सभाबाट संविधान जारी भएपछि प्रत्येक वर्ष असोज ३ गते धेरै जसो नेता, कार्यकर्ता र सर्वसाधारणले उत्सवका रुपमा संविधान दिवस मनाउदै आएका छन् भने थोरै जसो नेता, कार्यकर्ता र सर्वसाधारणखास गरी मधेशी दलहरुले संविधान दिवसलाई कालो दिवसका रुपमा मनाउदै आइरहेका छन् । उही नेपाली नागरिक कतै संविधान दिवसलाई उत्सवका साथ मनाउछ, कतै चर्को विरोध गर्दै कालो दिवसका रुपमा मनाउछ । संविधानको यो विरोध र समर्थनले छिमेकी मुलुक भारत र चीनलाई मात्र होइन समुन्द्र पारका शुभचिन्तकहरुलाई समेत भ्रममा पारेको छ । यो भ्रमले नेपाललाई लज्जित बनाएको छ ।
गत असोज ३ गते संविधान दिवसका दिन संघीय राजधानी काठमाडौं सहित पहाडी जिल्लाहरुमा संविधान दिवस उत्सवका साथ मनाइरहँदा सोही समयमा मधेशी दलहरुले संविधान दिवसलाई कालो दिवसका रुपमा मनाउँदै यसको अन्त्येष्टि हुनुपर्ने धारणा राखे । जो अशोभनीय र विडम्बनापूर्ण छ । २०७२ साल असोज ३ गते संविधान सभाले संविधान जारी गर्दा मधेशी दलहरुले विरोध गरीरहेकै थिए र अहिले पनि गरिरहेकै छन् । विगत नौ वर्ष देखि अहिलेसम्म विरोधका क्रम जारी छ, अझै यो क्रम वर्षौसम्म पनि जान सक्छ । यस्तो हुनु राम्रो होइन । यसको समस्या सन्तुष्टिपक्ष र असन्तुष्टि पक्षबीच गहन छलफल गरी समस्याको समाधान तुरुन्त गर्नुपर्छ । संविधान निर्माणमा कहाँनिर कमजोर छ त्यसलाई सच्याउन सक्नुपर्दछ । राष्ट्र र राष्ट्रियतालाई आँच आउन दिनु हुँदैन । आँच आउने भए त्यस्ता कुरामा असन्तुष्ट पक्षले जिद्धि गर्नु हुँदैन । आँच नआउने भए सन्तुष्टि पक्षले असन्तुष्टि पक्षको माग सम्बोधन गर्नु पर्दछ । राष्ट्रलाई हानी पुग्ने माग गरेर नारा, जुलुस र विरोध गरेको ठहर भए त्यस्ता व्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्छ । कारवाही पनि नगर्ने, अनि माग पनि सम्बोधन नगर्ने प्रवृत्तिले नेपालको गरिमा नै घटाइरहेको छ ।
संविधान दिवसकै दिन राष्ट्रपति कार्यालयमा रात्रिभोजको आयोजना भइरहँदा तराई–मधेशका शहरमा ब्ल्याक आउट गरी कालो दिवस मनाइयो । दरबारमार्गमा भव्य सांस्कृतिक कार्यक्रम चल्दै गर्दा मधेशका शहर वीरगञ्ज, जनकपुर, कलैया, गौर, नेपालगञ्ज, भैरहवा लगायतका स्थानहरुमा कालो दिवसका रुपमा कार्यक्रम गरियो । ठाउँठाउँमा झडप हुँदा कोहीलाई प्रहरीले पक्राउ पनि गर्यो ।
प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी, माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टीएकीकृन समाजवादीलगायतले भने शुभकामना व्यक्त गरे । संविधानको शुभकामना व्यक्त भइरहेकै बेला असन्तुष्टि जनाउने मध्येकै दल आजपा, लोसपा, जसपा लगायतका दलहरुले कालो दिवसका रुपमा मनाए । उनीहरु सरकारमा हुँदा पनि संविधानको बारेमा तटस्थमै रहे । त्यसकारण अब ८२ सालको असोज ३ गतेम्ममा चाहि संविधान सर्वमान्य बनोस् ।









