काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मानित हुनुभएको छ ।
मुलुकको अर्थतन्त्रको विकासमा पुर्याउनुभएको उल्लेखनीय योगदानका साथै साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा जन्मिएर नेपाली उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षजस्तो उच्च पदमा पुग्न सफल भएकोमा अध्यक्ष ढकाललाई सम्मान गरिएको हो ।
साथै सो मञ्चका निवर्तमान अध्यक्ष समेत रहनुभएका ढकालले मञ्चको संस्थागत विकासका क्षेत्रमा निर्वाह गर्नुभएको विशिष्ठ भूमिकाको कदरस्वरुप उहाँलाई सो सम्मान प्रदान गरिएको मञ्चले जनाएको छ ।
मञ्चको वार्षिक साधारणसभाका अवसरमा राजधानीमा आयोजित एक समारोहमा पूर्वप्रधानन्यायाधीश कल्याणराज श्रेष्ठले उहाँलाई उक्त सम्मान प्रदान गर्नुभएको थियो ।









