काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दलको बैठक बोलाएका छन्।
बैठक अहिले बिहान ९ बजेका लागि बोलाईएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।
आजको बैठकमा सरकारको एक सय दिन पुगेको र सरकारको काम कारबाहीको बारेमा सत्ता साझेदारसँग प्रधानमन्त्रीले छलफल गर्न लागेको जनाइएको छ।
सरकार परिवर्तनको चर्चाकाबीच ओलीले बोलाएको यो बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ। लोकतान्तित्र समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सत्ता गठबन्धन छाडेर प्रतिपक्षमा गएपछि सत्तारुढ भित्रै हलचल मच्चिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारीको रकम अपचलन प्रकरणको छानबिनका लागि पक्राउ नै परेपछि विपक्षी दलहरु मोर्चाबन्दी गरेर सरकारविरुद्ध लाग्ने रणनीतिमा लागेका छन्।
सरकारले एक सय दिनसम्म पनि उपलब्धिमूलक काम गर्न नसकेको तर आफूहरुलाई पेल्ने रणनीति मात्र बनाएको भन्दै विपक्षी दल आक्रोसित भएका हुन्।
विपक्षीहरुको रणनीति कुनै पनि हालतमा सरकार सहज रुपमा अगाडि बढ्न नसकोस् भन्ने नै देखिन्छ। दुई ठूला दल मिलेका कारण उनीहरुले लिने निर्णयले जुनसुकै वेला पनि अप्ठ्यारो पर्न सक्ने बुझाइमा रहेका विपक्षी दलहरु सत्ता गठबन्धनमा फाटो ल्याउने कसरतमा समेत छन्।
सरकारले सही दिशा लिन नसकेका कारण दबाबमै राख्ने रणनीतिमा विपक्षीहरु पुगेको विश्लेषकको बुझाइ छ। यसलाई पनि आजको बैठकमा छलफलको एजेन्डा बनाइने भएको छ।