काठमाडौँ , राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स ले अन्तरराष्ट्रिय गन्तव्यको हवाई भाडादरमा छुट दिएको छ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार न्यूनतम २ हजार ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिइनेछ। काठमाडौँबाट भारतको नयाँ दिल्ली, मुम्बई र बैंग्लोर सेक्टरका लागि बजार भाडादरमा २ हजार ५ सय रुपैयाँसम्म छुट दिइनेछ।
यसैगरी कतारको दोहा‚ युनाइटेड अरब इमिरेट्स यूएईको दुबई, साउदी अरेबियाको दमाम, मलेशियाको क्वालालम्पुर, हङकङ, थाइल्यान्डको बैंकक र जापानको नारिता उडानमा ५ हजार रुपैयाँसम्म छुट दिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
हवाई भाडादर घटाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विशेष निर्देशनबमोजिम राष्ट्रिय दायित्व निर्वाह गर्दै अन्तरराष्ट्रिय गन्तव्यहरुको भाडादरमा छुट दिन थालिएको निगमले जनाएको छ।
हवाई भाडा वृद्धिबारे गुनासो बढेपछि पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले बुधवार अन्तरराष्ट्रिय उडान गर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका थिए।
यसअघि हवाई सेवा कम्पनीहरुले नियामक निकायसँगको छलफलमा हवाई भाडा नियन्त्रणका लागि पाँचबुँदे सहमति गरिएको भए पनि कार्यान्वयन नगरेको भन्दै पर्यटनमन्त्रीले एयरलाइन्सहरुले नागरिकको मर्का बुझिदिन अनुरोध गरेका थियो।
निगमका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यही नोभेम्बर १ देखि २२ सम्म डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिसमा दिल्लीको दुईतर्फी उडानमा ३७ जना क्यान्सर रोगीलाई शतप्रतिशत र ती विरामीका ३३ जना कुरुवालाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराइएको छ।









