आनीवक्ष ‘पियुषी’
मानिसका प्राकृतिक आँखाहरुले प्रकृतिलाई हेर्ने र प्रकृतिको रहस्यलाई बुझ्ने बौद्धिक आँखाहरुको गुण हुनुपर्दछ । प्रकृतिको बनावटलाई हेर्ने र प्रकृतिकै सत्यतलाई बुझ्ने दुवै आँखाहरुको संचालक भनेको विद्या हो । देशका आँखाहरु भनेका शिक्षित जनता हुन् । मानिसको स्वास्थ्यस्थितिको सँगसँगै आँखाहरु पनि स्वस्थ र सवल भैदिएमा मानिसलाई उन्नती प्रगति गर्न सजिलो हुने गर्छ । बौद्धिक आँखाहरुलाई सवल र सुक्ष्म बनाउन शिक्षा नै भरपर्दो हुनु आवश्यक छ । जसरी मानिसका प्राकृतिक आँखाहरु अस्वस्थ भैदिए भने मानिसले प्रगति गर्न त परै जाओस् उसलाई सजिलोसँग् बाँच्न नै गाह्रो भैरहेको हुन्छ, त्यस्तै बौद्धिक आँखा रुपि शिक्षा पनि असक्षम खालको भैदियो भने मानिसले ताके अनुसारका राम्रा राम्रा कामहरुमा सफलता हात पार्न गाह्रो नहोला भन्न सकिन्न । आँखा बिनाको हिडाइ जसतै उद्देश्य बिनाको पढाइ पनि भैदियो भने शिक्षा आर्जन गर्ने मानिसको हालत कस्तो होला, हामीले गहिरिएर विचार गर्ने हो भने कहाली लाग्न सक्छ । जसरी स्वास्थ्य आँखाले प्रकृतिमा भएका सबै चिज छर्लङ्ग देख्न सक्छ, त्यस्तै बौद्धिक एवं प्राविधिक आँखाहरुले पनि सांसमिक प्रविधिहरुलाई छर्लङ्ग देखेर पर्गेल्न सकेमा आआफ्नो व्यवसाय सहज ढंगले सञ्चालन गर्न सजिलो पर्ने हुन्छ ।
मानिसको दृष्टि कमजोर भएका आँखाहरुले जसरी मानिसलाई सजिलोसँग बाँच्न अप्ठ्यारो पारीराखेको हुन्छ, त्यसरी नै कमजोर शिक्षाले पनि मानिसलाई सजिलोसँगै बाँचेर प्रगति गर्न अप्ठ्यारो पारीराखेको हुनसक्छ । आखिर मानिसले यही धर्तीमा रहि बाँचेर केही गर्नुछ, आत्मरक्षा पनि गर्नु छ भने सिकिसकेको ज्ञान र गुणले उसको भविष्य उज्ज्वल बनाउन पुराका पुरा मद्दत पुर्याओस् भन्ने नै हो । त्यसैले हामी नेपालीहरु पनि आफ्नै मातृभूमि नेपालमा बाँचेको नाताले हाम्रो मुलुकका शिक्षा पनि पूर्ण रुपले सक्षमता प्रदान गराइदिने खालको भैदिएमा अहोभाग्य सम्झेर प्रगतिको बाटो समात्ने थियो । तर दुर्भाग्यबस अहिलेको जस्तो शिक्षाले युगौंयुग गाली दियो भने हाम्रो प्रगति पनि पछि नपर्ला भन्न सकिन्न । सम्भव छ, हाम्रो मातृभूमि नेपालमा वैज्ञानिक र भरपर्दो शिक्षाको अरुणोदय हुने नै छ ।