स्वदेशी उत्पादनलाई विश्वास गरौं


हाम्रो समाजमा आफ्नो देशमा उत्पादित उपभोग्य वस्तुहरु लत्ताकपडा, मेसीनरी औजार, उपभोग्य खाद्य वस्तुहरु लगायतका वस्तुहरुमा विश्वास नगरेर विदेशमा उत्पादित वस्तुहरुमा विश्वास गर्ने र आयातित वस्तुहरु किन्न प्रति नै ध्यान दिन्छौं । आयातित वस्तुमा ध्यान दिँदा स्वदेशमा उत्पादित वस्तु ओझेलमा पर्ने र ठूलो परिमाणमा रकमस्वदेशीने क्रम बढीरहेको छ । व्यापार घाटा यसैको प्रतिफल हो ।
हामी विदेशी उत्पादन जति सुकै महँगो भए पनि किन्न तत्पर छौं । विदेशी उत्पादनमै हाम्रो विश्वास छ । विदेशी वस्तु मन पराएर स्वदेशी वस्तु मन नपराउनु भनेको आफैले आफ्नो विश्वास नगर्नु जस्तै हो । विलाशिताका सामान र दैनिक खाद्य वस्तुहरु स्वदेशमै उत्पादन गरी आत्मनिर्भरता बढाउने र विदेशतिर निर्यात गर्ने हो भने हाम्रो आर्थिकस्तर सुधारोन्मुखतर्फ लाग्ने थियो । अहिले स्वदेशमा उत्पादित वस्तुहरुले बजार नपाएर किसानहरु मर्कामा परिरहेका छन् । ग्रामीण क्षेत्रमा उत्पादित उपभोग्य वस्तुहरु शहरमा पठाएर अधिकतम उपभोग गर्नु गराउनु पर्ने बेलामा कमिसनको चक्करमा लागेर व्यापारीहरुले विदेशी उत्पादन नै आयायत गरिरहेका छन् । यस्तो अवस्थाको निराकरण गर्दै स्वदेशी उत्पादनमा रमाउनु पर्ने र त्यस्तो उत्पादन पनि गुणस्तरीय बनाउनुपर्ने नितान्त आवश्यक भईसकेको छ । स्वदेशमा उत्पादित अर्गानिक तरकारी र फलफूलहरुलाई पाखा लगाएर विषादी प्रयोग गरी स्वास्थ्यलाई हानी पुग्ने उपभोग्य वस्तुहरु रातारात आयात भैरहेका छन् । यस बारे सरकारले ध्यान पुर्याएको देखिएन । यस्तो अवस्थामा कसरी हुन्छ मुलुकको समृद्धि र जनता कसरी निरोगी बन्न सक्दछन् ? आफ्नो देशको उत्पादनले आन्तरिक खाँचो टार्न नसकेको बेला मात्रै विदेशी उत्पादन आयात गर्नुपर्नेमा त्यस्तो भइरहेको अवस्था छैन ।
राज्यको नेतृत्व गर्ने पक्षले साँच्चै मुलुकको समृद्धि चाहन्छन् भने स्वदेशी उत्पादन गुणस्तरीय उत्पादन गरी आन्तरिक आवश्यकता पुरा गरी निर्यातमा वृद्धि गर्दै लान सक्नु पर्दछ । यसका लागि विदेशीएका युवालाई स्वदेश फर्काइ उनीहरुलाई क्षमता अनुसारको काम र काम अनुसारको दाम दिन सक्नुपर्दछ । स्वदेशमा उत्पादित वस्तु बजारीकरणका लागि गाउँगाउँ र टोलटोलमा बाटो पुर्याई वस्तु विक्रि वितरणमा सहजता पुर्याउन जरुरी छ । जस्ले गर्दा स्वदेशी वस्तुको खपत गर्न गराउन सहजता मिल्न सक्दछ । अनि पो मुलुक समृद्धिको बाटो तर्फ लाग्न सक्छ त । अहिले जुन कुरा बोलिन्छ त्यो व्यवहारमा लागू हुँदैन । कामभन्दा भाषण बढी हुने अवस्थाले मुलुक उल्टो गतिमा चलिरहेको छ । त्यसैले अब स्वदेशी उत्पादनलाई गुणस्तरीय बनाई यसैमा आत्मनिर्भर बनौं । यसैमा सबैको भलो हुनेछ ।

LEAVE A REPLY