काठमाडौं । केही दिनअघि सम्पन्न स्थानीय दलको उपनिर्वाचनमा मुलुकका तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रले चित्त बुझाएका छन् । चित्त बुझाउने परिणाम आयो । राप्रपाबाहेक संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलहरुले उपनिर्वाचन परिणाममा उपस्थिति देखाएका छन् । नेपाली कांग्रेसले विगतको उपस्थिति जोगाउन नसके पनि परिणाम सन्तोषजनक भनेको छ । एमालेले अपेक्षाकृत नतिजा नआएको बताएको छ भने माओवादीले अर्को निर्वाचनको बलियो आधार तयार भएको प्रतिक्रिया दिएको छ । रास्वपाले आफ्नो एजेण्डा गाउँगाउँ पुगेको रुपमा लिएको छ ।
मुलुकको फरकधारको नेतृत्व गरिरहेको राप्रपाले एकसिट नजिते पनि त्यसलाई जनताको नजरको रुपमा टिप्पणी गरेको छ । हारे पनि जनताको मत भने बढ्दै गएको राप्रपाका नेताहरुले बताएका छन् । यसैगरी जसपा नेपालले मधेशमा आफु नै मुख्य शक्ति भएको प्रमाणित भएको टिप्पणी गरेको छ । जुम्लामा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार र झापामा स्वतन्त्रको जितले धेरैलाई आश्चार्यमा पारेको छ । जसपा नेपाल, एकीकृत समाजवादी, रास्वपा र नेकपासहित स्वतन्त्र उम्मेदवारले उपचुनाव जितेर उपस्थिति मात्रै जनाएनन्, ठूला दलमाथि दबाब बढाएका छन् । अहिले निर्वाचन भएका ४४ स्थानमध्ये २७ स्थान कांग्रेसले जितेको थियो । त्यसो त आखेलढुंगा र कैलाली प्रमुखमा क्रमशः कांग्रेका टेकबहादुर भट्टराई र टीकाकुमारी चौधरीलाई निर्विरोध निर्वाचित गराएर कांग्रेसले सुरुमै विजयी खाता खोलेको थियो । तर कांग्रेसले यस अघि जितेका सबै स्थान जोगाउन नसकेर अपेक्षित नतिजा निकाल्न सकेन । सीमित सिटमै भए पनि यसपटकको उपनिर्वाचन वास्तवमै जनमत परिक्षणको अवसर थियो । किनभने असाध्यै न्यून सिटमा बाहेक प्रमुख तीन दलहरु आआफ्नै बलमा मैदानमा थिए । नतिजा संघीय, प्रदेश र स्थानीय तहको शक्ति सन्तुलनभन्दा फरक देखिएको छ । ४४ सिटको परिणाम आउँदा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो स्थानमा छन् ।
संसदका दुई ठूला दल कांग्रेस र एमालेबीच सत्ता गठबन्धनपछि भएको पहिलो जनमत परिक्षणमा दुवै दलले अपेक्षित नतिजा निकाल्न सकेनन् ।
यो पटक उपनिर्वाचनलाई आगामी २०८४ मा हुने निर्वाचनको जनपरिक्षणको रुपमा हेरिएको छ । यदि अहिले झैं मत आउने हो भने एमालेलाई धेरै घाटा पर्ने देखिन्छ भने माओवादी केन्द्रको राम्रो परिणाम आउने छ । कांग्रेस पहिलो स्थानमै रहने छ । यसरी गर्दा प्रचार भए जसरी माओवादी केन्द्र तेस्रो चौथो भएन बरु कांग्रेसपछि दोस्रो स्थानमा रहे । यसले माओवादीलाई उत्साहित पारेको छ । यदी एक्ला एक्लै चुनाव लड्ने हो भने कांग्रेस, माओवाद केन्द्र र एमालेको पक्षमा जनमत आउने देखिएको छ । त्यसमाथि एक्लै चुनाव लड्दा पनि कांग्रेस नै पहिलो पार्टी हुने जनमतले देखाएको छ । तर जनताका अभिमतलाई कुनै पनि दलले नजर अन्दाज गर्न मिल्दैन । यो स्थानीय तहको निर्वाचनमा राप्रपा सुन्यको अवस्थामा झर्नुको कारणको खोजि भइरहेको छ । तर राप्रपाका नेताहरु भने अझै पनि निरुत्साहित नभई सुधारको पक्षमा ध्यान दिने बताएका छन् ।