नेपालमा देखियो ‘मङ्कीपक्स’

काठमाडौं । नेपालमा कोरोना भाइरस मत्थर भएको केही वर्षपछि नै अर्को सरुवा रोग ‘मङ्कीपक्स’ देखा परेको छ । हालै साउदी अरबबाट फर्किएका एक युवामा यो रोग पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।यदुचन्द्र घिमिरेले बताउनुभयो । उहाँले हालै साउदी अरबबाट फर्किएका करिब ३६ वर्षिया युवामा ‘मङ्कीपक्स’ सँग मिल्दोजुल्दो लक्षण देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गर्दा मङ्कीपक्स संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँले ती युवाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भईरहेको र अवस्था सामान्य रहेको पनि बताउनुभयो । यसअघि २०८० साल असारमा विदेशबाट आएकी एक विदेशी ६० वर्षिय महिलामा यस्तो संक्रमण देखिएको उहाँको भनाई छ ।
सरुवा रोग विशेषज्ञ डा।शेरबहादुर पुनले मङ्कीपक्स ‘भाइरल जुनोसिस’ रोग भएको जानकारी गराउँदै यो रोग जनावरबाट मानिसमा सरेको भाइरस भएको जानकारी दिनुभयो । उहाँका अनुसार मङ्कीपक्सले आक्रमण गरेपछि ज्वरो आउनु, हात खुट्टा र मुखमा बिमिरा देखिनु, सामान्य ज्वरो सुरु भएको १ देखि ३ दिनभित्र छाला, अनुहार, हत्केला र पैतालामा डावर देखा पर्दछ । र डाबर परिवर्तन भई फोकामा परिणत भई पाप्रा लागेर उप्किनु, टाउको र डाढ दुख्नु, मांशपेशी दुख्नु, शरीरका ग्रन्थी बढ्नु, आँखा संक्रमण भई दृष्टि गुम्नुलगायतका लक्षण मङ्कीपक्सका लक्षण भएको उहाँको भनाइ छ ।
नेपालमा प्राय विदेशबाटै आएका व्यक्तिहरुमा सरुवा रोग पनि साथैमा आउने गरेका छन् । आजभन्दा करिब ४ वर्ष अघि पनि विदेशबाट आएका एक एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । तर छिटो भाइरल भएकोले नेपाल लगायत विश्वभरी नै महामारीको रुप लिएको थियो । त्यसैले विदेशबाट आउने चाहे आफन्त हुन या विदेशी जो सुकै भए पनि सरुवा रोगको परिक्षण गराएर मात्र हिमचिम बढाउन आवश्यक देखिन्छ । अफ्रिकी देशमा यो रोगबाट कैयौको मृत्यु भईसकेको हुँदा यसबाट बच्न सावधानी अपनाउन स्वास्थ्यकर्मीको सल्ला छ ।
यो रोग केही वर्ष अघि नेपालका पशुहरु, गाईगोरु लगायतमा पनि देखिएको थियो । सरकारले विशेष निगरानी राख्दै उपचारमा कडाइ गर्दा अहिले नियन्त्रणमा आएको छ । अहिले पनि यसबारे सरकारले निगरानी थालेको छ ।

LEAVE A REPLY