रविलगायतले थुनामै पठाउनुपर्ने कसुर गरेको सरकारी वकिलको दावी, भोली बिहीवार जाहेरवालाका तर्फबाट बहस हुने

काठमाडौँ , सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित ७ जनाविरूद्ध परेको मुद्दामा सरकारी वकिलले बहस सकेका छन्। यस सँगै भोली जाहेरीवालाको तर्फबाट बहस हुनेछ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा जारी थुनछेक बहसअन्तरगत आज सरकारी वकिलका तर्फबाट बहस सकिएको हो। बुधवार नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मी, उपन्यायाधिवक्ता प्रकाश गौतम, जिल्ला न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारीले बहस गरे।

थुनछेक बहसमा सरकारी वकिलहरूले सूर्यदर्शन सहकारीमा सर्वसाधारणले राखेको बचत रकम गोर्खा मिडिया नेटर्वक प्रालि, नेचर हर्ब्स इन्टरनेसनल लगायत कम्पनीमा लगेर अपचलन गरेको भन्दै प्रतिवादीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका थिए।
आरोपीहरूको बयानपछि मंगलवारदेखि थुनछेक बहस सुरू भएको हो। मंगलवार सहायक जिल्ला न्यायाधिवक्ता शर्मा र सुजाता पौडेलले बहस गरेका थिए।
सूर्यदर्शन सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, पूर्वसांसद मीना गुरुङ, आरति गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङविरुद्ध पुरक मुद्दा दर्ता भएको थियो।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध मुद्दा दायर गरेको हो।

रविविरुद्ध सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा दर्ता भएको छ। गत कात्तिक २ गते पक्राउ परेका रवि लामिछानेलाई बयानका लागि रुपन्देही, काठमाडौँ, चितवन र पर्सा पनि लगिएको थियो।
सरकारी वकिलको बहस सकिएसँगै अब बिहीवार जाहेरवालाका कानुन व्यवसायीले बहस गर्नेछन्। जाहेरवाला सहकारी पीडितका कानुन व्यवसायीले बहस गरेपछि प्रतिवादीका कानुन व्यवसायीले बहस गर्ने जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए। जानकारी अनुसार प्रतिवादीका तर्फबाट सबैभन्दा पहिला पूर्वडिआइजी छविलाल जोशीका कानुन व्यवसायीले बहस गर्नेछन्। त्यसपछि मात्र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य प्रतिवादीका कानुन व्यवसायीले बहस गर्ने तयारी भएको छ।

सूर्यदर्शन सहकारी ठगीमा मुछिएका सहकारी संचालकलगायत व्यक्तिविरूद्ध शुरुमा दर्ता गरिएको मूल अभियोग, थप अभियोग र रवि लामिछानेसहित जोडिएको पूरक अभियोग गरी ८ वटा कम्पनीसहित ६३ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूसँग १ अर्ब ५१ करोड बढी रकम बिगो माग गरिएको छ।

LEAVE A REPLY