नेपालमा दिनहुँ जस्तो भ्रष्टाचार बढ्दै जाँदा जनताहरु वाक्क दिक्क र पाक्क नै भइसके । आफुले गाँस काटेर तिरेको करमा र विदेशीले नेपाल र समग्र नेपालीको हितका लागि भनेर दिएको चन्दा दानमा समेत भ्रष्टाचार हुँदा जनतामा निराशा उत्पन्न हुनु स्वभाविकै हो । भ्रष्टाचार बढेपछि कुशासन पनि बढ्ने नै भयो । जसले जे गरे पनि पहुँचवाला सँधै माथि नै र पहुँच नहुने सँधै अन्यायमै ।
नेता, कार्यकर्ता, कर्मचारी पदाधिकारी सबै भ्रष्टै भ्रष्ट, सबै चोरैचोर भएपछि यिनलाई कस्ले गर्ने कारवाही, कस्ले गर्ने नियन्त्रण ?
भ्रष्टाचारीलाई कारवाही गर्न भनेर कति छानविन आयोग गठन भए, छानबिन समिति बने तर तिनले रत्तीभर पनि काम गर्न सकेका छैनन किनभने छानबिन समिति सिफारिस गर्ने र समितिमा जाने सबै दल निकटका हुने भएकाले दलसँग सम्बन्धि भ्रष्टको मिलेमतोमा भ्रष्टको बचाउ हुने गरेको छ । दलका नेता नै भ्रष्ट भएपछि ती दलसँग सम्बन्धित कर्मचारीसमेत राजनीतिक दलको आड भरोसामा भ्रष्टाचार र बेथिती निम्त्याइरहेका हुन्छन् । पहुँच नहुनेहरु केही कारवाहीमा परे पनि अधिकांश पहुँचवालाहरुलाई सुनपानी छर्किएर चोख्याईरहेका छन् ।
नेपालमा भ्रष्टाचार नियन्त्रण हुन हरेक तह र तप्काका मानिसमा भ्रष्टाचार गर्नु भनेको जघन्य अपराध हो भन्ने भावनाको विकास स्वफुर्त रुपमा हुनुपर्दछ । त्यस्तो भावनाको विकास नभएसम्म भ्रष्टाचार र बेथिति नियन्त्रणमा आउन सक्दैन । सरकारको नेतृत्वमा जाने जो कोही पनि भ्रष्टाचार र बेथितिबाट अछुतो रहन सकेको छैन । एमाले नेतृत्व, कांग्रेस नेतृत्व, माओवादी केन्द्र नेतृत्व लगायत अन्य व्यक्तिहरु कोही पनि भ्रष्टाचारबाट अछुतो रहन सकेका छैनन् । कसैलाई लाउडा काण्ड, कसैलाई मानिस तस्करी काण्ड, कसैलाई गिरीबन्धु चिया काण्ड, ललिता निवास काण्ड, कसैलाई सेनाको रकम हिनामिना गरेको काण्ड, कसैलाई नुवाकोटको सेरा दरबार काण्ड, कसैलाई सहकारी काण्ड जस्ता काण्डैकाण्डले सबै भरिपूर्ण भएका छन् । त्यसैले यो व्यवस्था रहेसम्म कसैले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन । नियमनकारी नै भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । अनि कस्ले गर्छ भ्रष्टलाई कारवाही ?
भ्रष्टाचार नियन्त्रण गर्नका लागि स्वच्छ छवि र निष्पक्ष रुपमा काम गर्ने जमात चाहिन्छ । यो जमातबाट मात्र भ्रष्टाचार नियन्त्रण र कारवाहीको काम सम्भव छ ।