महिला जागे समाज परिवर्तन हुन्छ भन्ने प्रमाण स्थापित भएको छ प्रम ओली

a काठमाण्डौ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पुरुषको नेतृत्वमाभन्दा महिला नेतृत्वमा स्थानीय तहमा सेवा प्रभावकारी भएको बताउनुभएको छ । ‘कल्प एम्पावर वेमेन नेपाल’द्वारा आयोजित महिला जनप्रतिनिधिहरुको सम्मान ‘सी लिड्स आइकन’ कार्यक्रममा उक्त अभिव्यक्ति दिनुभएको हो । नगरपालिका र गाउँपालिकाको प्रभावकारी सेवा प्रवाह र औचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिहरुले अगुवाई गरेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभया– ‘व्यवस्थामा परिवर्तन भयो तर अवस्थामा परिवर्तन भएन भने गलत भाष्य चिर्न महिला जनप्रतिनिधिको उपस्थिति र सक्रियता नै काफी छ । महिला जागे भने समाज परिवर्तन हुन्छ भन्ने प्रमाण स्थापित भएको छ ।’
त्यसैगरी महिलाहरु शासन गर्ने स्थानमा पुग्नु राजनीतिक परिवर्तनको उपलब्धी भएको दाबी गर्नुभयो । महिलामा करुणा, माया र स्नेहभाव बढी हुने भएकाले उनीहरुको भूमिकाले हरेक क्षेत्रमा उत्कृष्टता हासिल गरेको उहाँको भनाई छ ।
त्यस्तै नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सुशासनयुक्त भ्रष्टाचारमुक्त पालिका निर्माणमा सक्रियता बढाउनु महिला जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । स्थानीय जनप्रतिनिधिले सामाजिक, सांस्कृतिक परिवर्तनका लागि योजना बनाएर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो– ‘सुसंस्कृत समाज निर्माण पनि समृद्धि हो । सामाजिक न्याय सहितको समृद्धि हुनुपर्दछ । आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण खाँचो छ ।’ महिला जनप्रतिनिधिहरुको सम्मान कार्यक्रमको अवसरमा प्रभावकारी काम गर्ने विभिन्न पालिकाबाट छानिएका २७ जना महिला जनप्रतिनिधिलाई ‘सी लिड्स आइकन’ उपाधिबाट सम्मान गरिएको थियो । त्यस्तैगरी सोही क्रममा तीन उत्कृष्ट महिला जनप्रतिनिधिलाई ‘सी लिड्स आइकन’ अवार्ड प्रदान गरिएको थियो ।

LEAVE A REPLY